विदेश पठाइदिने नाममा ४६ लाखभन्दा बढी ठगी, चार जना पक्राउ

विदेश पठाइदिने नाममा ४६ लाखभन्दा बढी ठगी, चार जना पक्राउ

काठमाडौं, आकर्षक तलब र उज्ज्वल भविष्यको सपना देखाएर वैदेशिक रोजगारीका नाममा लाखौं रुपैयाँ ठगी गर्ने चार जना पक्राउ परेका छन्। विभिन्न देश पठाइदिने प्रलोभनमा पारेर उनीहरूले पीडितहरूबाट ४६ लाख ८२ हजार रुपैयाँभन्दा बढी रकम असुलेको आरोप लागेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले सिन्धुपाल्चोकका निमा तामाङ (२६), महोत्तरीका बिबेक साह (२४), सप्तरीका उज्ज्वल कुमार थापा (५२) र तेह्रथुमका खेम बहादुर बस्नेत (३५) लाई पक्राउ गरेको हो।

प्रहरीका अनुसार निमा तामाङले फ्रान्स पठाइदिने भन्दै एक जनाबाट २२ लाख ८५ हजार रुपैयाँ, बिबेक साहले जर्जिया र माल्टा पठाइदिने भन्दै दुई जनाबाट ६ लाख ३५ हजार रुपैयाँ, उज्ज्वल कुमार थापाले हंगेरी र रोमानिया पठाइदिने भन्दै दुई जनाबाट ९ लाख ६२ हजार रुपैयाँ तथा खेम बहादुर बस्नेतले फ्रान्स पठाइदिने भन्दै एक जनाबाट ८ लाख रुपैयाँ असुलेका थिए।

रकम बुझाइसकेपछि उनीहरू सम्पर्कविहीन बनेको भन्दै पीडितहरूले उजुरी दिएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। अनुसन्धानका क्रममा काठमाडौंका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरिएको हो।

प्रहरीका अनुसार पक्राउ परेका निमा तामाङ र बिबेक साहलाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ भने उज्ज्वल कुमार थापा र खेम बहादुर बस्नेतलाई आवश्यक कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।

हालका वर्षहरूमा वैदेशिक रोजगारीको नाममा हुने ठगीका घटना बढ्दो क्रममा रहेकाले सम्बन्धित निकायले विदेश जान चाहने युवाहरूलाई आधिकारिक प्रक्रिया र स्वीकृत संस्थामार्फत मात्र अघि बढ्न आग्रह गरेको छ। (स्रोत: नेपाल प्रहरी)