वैदेशिक रोजगारीको नाममा ४५ लाखभन्दा बढी ठगी, चार जना पक्राउ
काठमाडौं, आकर्षक तलब र वैदेशिक रोजगारीको सपना देखाएर लाखौं रुपैयाँ ठगी गर्ने आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ। पक्राउ परेकाहरूले जापान, माल्टा र सर्बिया पठाइदिने प्रलोभनमा पारेर विभिन्न व्यक्तिबाट रकम असुलेको आरोप छ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका अनुसार पक्राउ पर्नेहरूमा खोटाङ घर भई हाल ललितपुर महानगरपालिका–९ बस्ने १८ वर्षीय किशोर, काभ्रे घर भई काठमाडौं महानगरपालिका–३१ बस्ने ३५ वर्षीय अस्कर हुमागाई, मोरङ घर भई काठमाडौं महानगरपालिका–३ बस्ने ४५ वर्षीय पबित्रजंग बुढाथोकी तथा दोलखा घर भई काठमाडौं बुढानिलकण्ठ नगरपालिका–७ बस्ने ४१ वर्षीया बेलु माया तामाङ रहेका छन्।
प्रहरीका अनुसार अस्कर हुमागाई र किशोरले जापान पठाइदिने भन्दै २५ जना पीडितबाट ४० लाख ३० हजार रुपैयाँ असुलेका थिए। त्यसैगरी पबित्रजंग बुढाथोकीले माल्टा पठाइदिने भन्दै एक जनाबाट २ लाख ३० हजार रुपैयाँ तथा बेलु माया तामाङले सर्बिया पठाइदिने भन्दै दुई जनाबाट ३ लाख रुपैयाँ लिएको उजुरी परेको थियो।
रकम लिएपछि सम्पर्कविहीन बनेको भन्दै पीडितहरूले दिएको उजुरीका आधारमा प्रहरीले विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो।
पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
वैदेशिक रोजगारीको नाममा हुने ठगीका घटना निरन्तर बढिरहेका बेला प्रहरीले वैदेशिक रोजगारमा जानुअघि सम्बन्धित कम्पनी र प्रक्रियाबारे राम्रोसँग बुझ्न तथा सरकारी स्वीकृति प्राप्त संस्थामार्फत मात्र प्रक्रिया अघि बढाउन सर्वसाधारणलाई आग्रह गरेको छ।
(स्रोत: नेपाल प्रहरी)



प्रतिकृया दिनुहोस्