४४ प्रहरी अधिकृतको पदोन्नति, नेपाल प्रहरीमा नयाँ ऊर्जा र जिम्मेवारी
काठमाडौं, नेपाल प्रहरी संगठनमा नेतृत्व विकास र व्यावसायिक क्षमताको प्रवर्द्धन गर्दै ४४ जना प्रहरी अधिकृतहरू दर्ज्यानी चिन्हद्वारा सुशोभित भएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित विशेष समारोहमा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले पदोन्नति प्राप्त अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गर्नुभएको हो।
नेपाल सरकारको निर्णयअनुसार जनपद तथा प्राविधिकतर्फका विभिन्न तहमा पदोन्नति भएका कुल ४७ जना अधिकृतमध्ये ४४ जना समारोहमा सुशोभित भएका हुन्। बाँकी ३ जना अधिकृत हाल तालिमका लागि दक्षिण कोरियामा रहेका कारण कार्यक्रममा सहभागी हुन सकेनन्।
समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले पदोन्नति प्राप्त अधिकृतहरूलाई बधाई तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्नुभयो। उहाँले इमानदारिता, व्यावसायिक निष्ठा, कर्तव्यपरायणता र सेवाप्रतिको समर्पणको कदरस्वरूप पदोन्नति भएको उल्लेख गर्दै आगामी दिनमा अझ बढी जिम्मेवार, संवेदनशील र जनउत्तरदायी भएर काम गर्न निर्देशन दिनुभयो।
प्रहरी महानिरीक्षक कार्कीले बदलिँदो समयसँगै नागरिकका अपेक्षा र सुरक्षा चुनौतीहरू पनि बढ्दै गएको उल्लेख गर्दै निष्पक्ष, व्यावसायिक र सेवामुखी प्रहरी संगठन निर्माणमा सबैको महत्वपूर्ण भूमिका रहने बताउनुभयो। उहाँले व्यक्तिगत स्वार्थभन्दा माथि उठेर संगठनको प्रतिष्ठा र जनविश्वास अभिवृद्धिमा केन्द्रित हुन आग्रह गर्नुभयो।
पदोन्नति भएका अधिकृतहरूको तर्फबाट मन्तव्य व्यक्त गर्दै प्रहरी वरिष्ठ उपरीक्षक अमरेन्द्र बहादुर सिंहले प्राप्त जिम्मेवारीलाई अवसरका रूपमा ग्रहण गर्दै संगठनको लक्ष्य हासिल गर्न थप समर्पण र उत्कृष्टताका साथ काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।
नेपाल प्रहरीमा भएको यो पदोन्नति प्रक्रियालाई संगठनको संस्थागत विकास, नेतृत्व हस्तान्तरण र सेवा प्रवाहको गुणस्तर अभिवृद्धितर्फको महत्वपूर्ण कदमका रूपमा हेरिएको छ। यसले प्रहरी संगठनमा नयाँ ऊर्जा, उत्साह र जिम्मेवारीको भावना थप मजबुत बनाउने विश्वास गरिएको छ। तस्बिर: नेपाल प्रहरी



प्रतिकृया दिनुहोस्