वातावरण संरक्षणका लागि कानुनसँगै व्यवहारिक परिवर्तन आवश्यक : सांसदहरू
काठमाडौं, वातावरण संरक्षणका लागि कानुन र नीतिमात्र पर्याप्त नभई नागरिकको व्यवहारमा समेत सकारात्मक परिवर्तन आवश्यक रहेको प्रतिनिधिसभाका सांसदहरूले बताएका छन्।
विश्व वातावरण दिवसको अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै सांसदहरूले वातावरणीय चुनौतीहरू दिनप्रतिदिन गम्भीर बन्दै गइरहेको उल्लेख गर्दै संरक्षणका प्रयासलाई व्यवहारिक जीवनसँग जोड्नुपर्नेमा जोड दिएका हुन्।
दिगो विकास तथा अनुसन्धान केन्द्र (क्रिएसन) नेपाल र गोल्डेन गेट कलेजद्वारा संयुक्त रूपमा आयोजित कार्यक्रममा प्रतिनिधिसभा सदस्य सजिदा खातुन सिद्धिकी ले नेपालमा बढ्दो वातावरण प्रदूषणप्रति चिन्ता व्यक्त गर्दै आवश्यक कानुन निर्माण तथा प्रभावकारी कार्यान्वयनका लागि सरकारलाई निरन्तर सचेत गराउने बताइन्। उनले वातावरण संरक्षणलाई साझा जिम्मेवारीका रूपमा लिनुपर्ने आवश्यकता औंल्याउँदै नीति तथा कानुनी सुधारमा आफू सक्रिय रहने प्रतिबद्धता व्यक्त गरिन्।
त्यस्तै, प्रतिनिधिसभा सदस्य डा. प्रमिला गच्छदार ले परम्परागत ज्ञान, सीप र स्थानीय स्रोतको प्रयोग वातावरण संरक्षणको प्रभावकारी माध्यम बन्न सक्ने बताइन्। थारु समुदायको जीवनशैली उदाहरणका रूपमा प्रस्तुत गर्दै उनले स्थानीय रूपमा निर्मित सामग्रीको प्रयोगले वातावरणीय सन्तुलन कायम गर्न मद्दत पुगेको धारणा राखिन्।
उनले वातावरण दिवस वर्षमा एक दिन मनाएर मात्र उद्देश्य पूरा नहुने उल्लेख गर्दै वातावरणमैत्री व्यवहारलाई दैनिक जीवनको हिस्सा बनाउनुपर्नेमा जोड दिइन्। साथै, परम्परागत वातावरणमैत्री अभ्यासहरूको संरक्षण र प्रवर्द्धनका लागि नीतिगत तथा कानुनी समर्थन आवश्यक रहेको बताइन्।
कार्यक्रममा दिगो विकास तथा अनुसन्धान केन्द्र (क्रिएसन) नेपाल की महासचिव रोशना सुवेदी ले वातावरण संरक्षणका लागि सरकार, नागरिक समाज, शैक्षिक संस्था र समुदायबीच समन्वय र निरन्तर वकालत आवश्यक रहेको बताइन्।
कार्यक्रमअन्तर्गत विद्यार्थीहरूलाई विभिन्न समूहमा विभाजन गरी ‘क्याफे टक’ शीर्षकमा अन्तरक्रियात्मक छलफल सञ्चालन गरिएको थियो। सहभागीहरूले वातावरण संरक्षणका चुनौती, सम्भावित समाधान तथा नवीन अवधारणाहरू प्रस्तुत गरेका थिए।
खुला प्रश्नोत्तर सत्रमा वातावरण संरक्षण, कानुन निर्माण, नीति कार्यान्वयन र व्यवहारिक सुधारसँग सम्बन्धित विविध विषयमा छलफल भएको थियो। सांसदहरूले सहभागीका जिज्ञासाको स्पष्ट र सहज जवाफ दिएका थिए।
कार्यक्रममा प्रतिनिधिसभा सदस्य तथा राष्ट्रिय स्वतन्त्र पार्टी की सचेतक क्रान्तीशिखा धिताल को विशेष उपस्थिति रहेको थियो। साथै, वातावरणमैत्री सामग्रीहरूको प्रदर्शनी र खाद्य स्टलहरू कार्यक्रमका प्रमुख आकर्षण बनेका थिए।
वक्ताहरूले वातावरण संरक्षणलाई केवल सरकारी दायित्वका रूपमा नभई प्रत्येक नागरिकको दैनिक अभ्यास र जिम्मेवारीका रूपमा स्थापित गर्नुपर्नेमा जोड दिएका थिए।
( Photo/News Source : Anant Anurag )



प्रतिकृया दिनुहोस्