ग्रीस र जापान पठाइदिने भन्दै लाखौं ठगी, दुई महिला पक्राउ

ग्रीस र जापान पठाइदिने भन्दै लाखौं ठगी, दुई महिला पक्राउ

काठमाडौं, जेठ २३ – वैदेशिक रोजगारीको नाममा आकर्षक तलबको प्रलोभन देखाएर लाखौं रुपैयाँ ठगी गर्ने आरोपमा प्रहरीले दुई महिलालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरूमा रामेछाप लिखु तामाकोशी गाउँपालिका–१ घर भई हाल काठमाडौं महानगरपालिका–३ बस्ने ३१ वर्षीया लक्ष्मी थापा कार्की र काठमाडौं बुढानिलकण्ठ नगरपालिका–८ बस्ने ३५ वर्षीया प्रिया बानिया रहेका छन्।

प्रहरीका अनुसार लक्ष्मीले एक व्यक्तिलाई ग्रीस पठाइदिने आश्वासन दिई ११ लाख ५० हजार रुपैयाँ ठगी गरेकी थिइन् भने प्रियाले जापान पठाइदिने भन्दै अर्का एक पीडितबाट २ लाख रुपैयाँ लिएकी थिइन्। रकम बुझाएपछि दुवै जना सम्पर्कविहीन भएको भन्दै पीडितहरूले उजुरी दिएका थिए।

उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले खोजी अभियान सञ्चालन गरी लक्ष्मीलाई काठमाडौं महानगरपालिका–३ बाट तथा प्रियालाई बुढानिलकण्ठ नगरपालिका–८ बाट पक्राउ गरेको हो।

पक्राउ परेका दुवैलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

वैदेशिक रोजगारीका नाममा हुने ठगीका घटनाहरू बढ्दै गएकाले सम्बन्धित निकायबाट अनुमति प्राप्त म्यानपावर कम्पनीमार्फत मात्र प्रक्रिया अघि बढाउन प्रहरीले सर्वसाधारणलाई आग्रह गरेको छ।


(स्रोत: नेपाल प्रहरी)