“सेवा, सुरक्षा र संवेदनशीलता अझ बलियो बनोस्” — आईजिपी कार्कीद्वारा पर्सामा नवनिर्मित सेवा केन्द्र भवन उद्घाटन

“सेवा, सुरक्षा र संवेदनशीलता अझ बलियो बनोस्” — आईजिपी कार्कीद्वारा पर्सामा नवनिर्मित सेवा केन्द्र भवन उद्घाटन

नेपाल प्रहरीका महानिरीक्षक दान बहादुर कार्की ले पर्सामा नवनिर्मित महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन उद्घाटन गर्दै नागरिकमैत्री प्रहरी सेवाको आवश्यकतामा जोड दिनुभएको छ ।

जिल्ला प्रहरी कार्यालय पर्साको परिसरमा बुधबार आयोजित कार्यक्रममा आईजिपी कार्कीले अत्याधुनिक सेवा केन्द्र भवन उद्घाटन गर्नुका साथै भवनको अवलोकन समेत गर्नुभयो ।

उहाँले महिला, बालबालिका तथा ज्येष्ठ नागरिक समाजका अत्यन्त संवेदनशील वर्ग भएकाले उनीहरूलाई प्रदान गरिने सेवा, सुरक्षा र सहायतामा प्रहरी थप संवेदनशील हुनुपर्ने बताउनुभयो ।
“नवनिर्मित भवनसँगै सेवा पनि छिटो, पारदर्शी, प्रविधिमैत्री र न्यायमैत्री हुनुपर्छ,” उहाँले भन्नुभयो ।

आईजिपी कार्कीले नेपाल प्रहरीको समग्र क्षमता विकासमा भौतिक पूर्वाधारको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै UNOPS ले पूर्वाधार विकासमा पुर्‍याएको सहयोगको खुलेर प्रशंसा गर्नुभयो । उहाँले यस्तो संरचनाले प्रहरी र नागरिकबीचको विश्वासलाई अझ मजबुत बनाउने विश्वास व्यक्त गर्नुभयो ।

कार्यक्रममा भवन निर्माणमा सहयोग पुर्‍याउने विभिन्न व्यक्तित्वलाई प्रशंसापत्र समेत प्रदान गरिएको थियो ।

कार्यक्रममा पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहाल ले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो भने मधेश प्रदेश प्रहरी कार्यालयका प्रमुख प्रहरी नायव महानिरीक्षक गोबिन्द थपलिया ले धन्यवाद मन्तव्य व्यक्त गर्नुभएको थियो ।

त्यसैगरी UNOPS का Operation Coordinator तथा अवकाश प्राप्त प्रहरी वरिष्ठ उपरीक्षक ईन्द्र न्यौपाने ले स्वागत मन्तव्य राख्नुभएको थियो भने Senior Engineer शिशिर उपाध्याय ले भवन निर्माण सम्बन्धी प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

UNOPS को सहयोगमा करिब २ करोड १ लाख ७४ हजार रुपैयाँ लागतमा निर्माण सम्पन्न भएको उक्त भवन उद्घाटन कार्यक्रममा वीरगञ्ज महानगरपालिका, सुरक्षा निकाय, सरकारी कार्यालय, राजनीतिक दल, सामाजिक संघसंस्था, सञ्चारकर्मी तथा स्थानीयवासीहरूको उल्लेख्य उपस्थिति रहेको थियो ।