सभामुख अर्याललाई एनआरएनएको ‘मध्यपूर्व क्षेत्रीय सम्मेलन’ मा प्रमुख आतिथ्यताको निमन्त्रणा
काठमाडौँ । गैरआवासीय नेपाली संघ (एनआरएनए) को उच्चस्तरीय प्रतिनिधिमण्डलले प्रतिनिधिसभाका सभामुख डोलप्रसाद (डीपी) अर्यालसँग शिष्टाचार भेटवार्ता गरेको छ। आज भएको उक्त भेटमा आगामी डिसेम्बर ११ र १२ तारिखका दिन कतारको दोहामा आयोजना हुने ‘नवौँ एनआरएनए मध्यपूर्व क्षेत्रीय सम्मेलन–२०२६’ को प्रमुख अतिथिका रूपमा सहभागी भइदिन सभामुख अर्याललाई औपचारिक निमन्त्रणा पत्र हस्तान्तरण गरिएको हो।
संघका पाँच पूर्वअध्यक्षहरू डा. उपेन्द्र महतो, जीवा लामिछाने, डा. बद्री केसी, आरके शर्मा र विनोद कुँवरसहितको टोली भेटवार्तामा सहभागी थियो। प्रतिनिधिमण्डलमा संस्थापक सदस्य रामप्रताप थापा, उपाध्यक्ष रोजिना प्रधान राई र प्रमुख कार्यकारी अधिकृत (सीईओ) राजेन्द्र कुमार राउतको समेत उपस्थिति रहेको थियो। भेटअघि अन्य पूर्वअध्यक्षहरू महेश श्रेष्ठ, रविना थापा, कुल आचार्य तथा वर्तमान अध्यक्ष डा. हेमराज शर्मासँग समेत आवश्यक परामर्श र समन्वय गरिएको जनाइएको छ।
छलफलका क्रममा प्रतिनिधिमण्डलले गैरआवासीय नेपाली नागरिकताको प्रभावकारी कार्यान्वयन, गैरआवासीय नेपाली ऐनलाई यथाशीघ्र सदनबाट पारित गर्नुपर्ने आवश्यकता, र वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूको हकहित एवं सुरक्षाका विषयमा सभामुखको ध्यानाकर्षण गराएको थियो। नेपाल भित्रिने कुल विप्रेषणको आधाभन्दा बढी हिस्सा मध्यपूर्व क्षेत्रबाट आउने तथ्य औँल्याउँदै प्रवासी श्रमिकका समस्यालाई नीतिगत रूपमा सम्बोधन गर्न तथा १० अर्ब रुपैयाँको सामूहिक लगानी परियोजनालाई अघि बढाउन राज्यको सहजीकरण आवश्यक रहेकोमा टोलीले जोड दिएको थियो।
सो अवसरमा संस्थापक अध्यक्ष डा. महतोसहित पूर्वअध्यक्षहरूले संघको संस्थागत एकता र स्थापनाकालीन मर्म जोगाउन राज्यको अभिभावकीय भूमिका महत्वपूर्ण हुने धारणा राखेका थिए। साथै, रसुवा–भोटेकोशी लगायतका प्राकृतिक विपद् प्रभावित क्षेत्रमा संघले गरिरहेको राहत तथा पुनर्स्थापनाका कार्यबारे पनि सभामुखलाई जानकारी गराइएको थियो।
जवाफमा सभामुख अर्यालले एनआरएनए विश्वभर छरिएका नेपालीहरूको साझा चौतारी भएकाले यसभित्र अनावश्यक राजनीतिक हस्तक्षेप हुन नहुने बताउनुभयो। संघ स्थापनाको पवित्र उद्देश्य र पछिल्लो व्यवहारबीच देखिएको अन्तरप्रति चिन्ता व्यक्त गर्दै उहाँले संस्थालाई एकताबद्ध बनाएर मूल मर्मअनुसार अघि बढाउन सुझाव दिनुभयो। गैरआवासीय नेपालीका संवैधानिक तथा कानुनी सरोकारका विषयमा आफू सदैव सकारात्मक रहेको उल्लेख गर्दै सभामुख अर्यालले दोहा सम्मेलनको निमन्त्रणाका लागि धन्यवाद दिनुभयो र कार्यव्यस्तता हेरेर सहभागिताबारे निर्णय लिने जानकारी गराउनुभयो।



प्रतिकृया दिनुहोस्