करेन्ट लागेर दुई जनाको मृत्यु, काठमाडौंमा ४६ वर्षीय र बाँकेमा ७ वर्षीय बालकको ज्यान गयो

करेन्ट लागेर दुई जनाको मृत्यु, काठमाडौंमा ४६ वर्षीय र बाँकेमा ७ वर्षीय बालकको ज्यान गयो

 

काठमाडौं, १५ भदौ ।

काठमाडौं र बाँकेमा करेन्ट लागेर दुई जनाको मृत्यु भएको छ। छुट्टाछुट्टै घटनामा एक जना श्रमिक र एक बालकको ज्यान गएको प्रहरीले जनाएको छ।

काठमाडौंको तारकेश्वर नगरपालिका–६, पैँयुटारस्थित सृदिस इन्जिनियरिङ आइरन ग्रिल कारखानामा काम गर्ने ललितपुरको टीकाथली निवासी ४६ वर्षीय संजोक श्रेष्ठको करेन्ट लागेर मृत्यु भएको हो।

सोमबार दिउँसो करेन्ट लागेर गम्भीर घाइते भएका श्रेष्ठको तारकेश्वर सिटी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

त्यस्तै, बाँकेको राप्तीसोनारी गाउँपालिका–२, अम्रहवामा करेन्ट लागेर ७ वर्षीय सरोज घर्तीको मृत्यु भएको छ। सोमबार बिहान करेन्ट लागेर गम्भीर घाइते भएका घर्तीको नेपालगञ्ज मेडिकल कलेज, कोहलपुरमा उपचारका क्रममा मृत्यु भएको हो।

दुवै घटनाबारे प्रहरीले आवश्यक अनुसन्धान अघि बढाएको जनाएको छ।