विदेश पठाइदिने भन्दै लाखौं ठगी ! माल्दिभ्स, माल्टा र अमेरिका पठाउने प्रलोभनमा ४ जना पक्राउ
काठमाडौं, १२ भदौ । आकर्षक तलबको प्रलोभन देखाउँदै विभिन्न देशमा वैदेशिक रोजगारीका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ असुली सम्पर्कविहीन भएको आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१६ बस्ने स्याङ्जा चापाकोट नगरपालिका–८ की ३६ वर्षीया बिमला घले, काठमाडौं महानगरपालिका–१६ बस्ने प्युठान स्वर्गद्वारी नगरपालिका–३ का ३६ वर्षीय प्रेमप्रसाद पोख्रेल, काठमाडौं महानगरपालिका–३ बस्ने नुवाकोट ककनी गाउँपालिका–८ का ३५ वर्षीय सागर गोतामे र ललितपुर महालक्ष्मी नगरपालिका–८ बस्ने ३० वर्षीया सिन्सा श्रेष्ठ रहेका छन्।
प्रहरीका अनुसार बिमलाले माल्दिभ्स पठाइदिने भन्दै तीन जना पीडितबाट ५ लाख ६० हजार रुपैयाँ लिएको आरोप छ। त्यस्तै, प्रेमप्रसादले माल्टा पठाउने भन्दै एक जनाबाट २ लाख ५० हजार, सागरले माल्टा पठाउने भन्दै एक जनाबाट ५ लाख र सिन्साले अमेरिका पठाउने भन्दै एक जनाबाट २ लाख रुपैयाँ लिएको उजुरी परेको थियो।
रकम लिएपछि उनीहरू सम्पर्कविहीन भएको भन्दै पीडितले दिएको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरीले अनुसन्धान अघि बढाएको हो।
प्रहरीले बिमला र प्रेमप्रसादलाई बुधबार काठमाडौंका छुट्टाछुट्टै स्थानबाट पक्राउ गरेको जनाएको छ। त्यस्तै, सागरलाई काठमाडौं महानगरपालिका–३ बाट र सिन्सालाई ललितपुरको महालक्ष्मी नगरपालिका–८ बाट बिहीबार पक्राउ गरिएको हो।
पक्राउ परेका चारै जनालाई थप अनुसन्धान तथा आवश्यक कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।
वैदेशिक रोजगारीमा जाने तयारीमा हुनुहुन्छ ?
वैदेशिक रोजगारीका नाममा अपरिचित व्यक्ति वा बिचौलियालाई ठूलो रकम बुझाउनुअघि सम्बन्धित व्यक्ति तथा संस्था कानुनी रूपमा दर्ता भएको छ कि छैन भन्ने यकिन गर्न प्रहरीले आग्रह गर्दै आएको छ।



प्रतिकृया दिनुहोस्