साधनाबाट शिखरसम्म : मिलन मोक्तान — कलासाधना, राष्ट्रसेवा र प्रेरणाको जीवनकथा
“सफलताको सूत्र साधना हो” — मिलन मोक्तान
काठमाडौं — मिलन मोक्तान नेपाली संगीत, नृत्य र सांस्कृतिक चेतनाका एक सम्मानित नाम हुन्। पाँच दशकभन्दा बढी समयदेखि कलासाधनामा निरन्तर सक्रिय रहँदै उनले कलाकार उत्पादन, सांस्कृतिक संरक्षण र राष्ट्रसेवामा अतुलनीय योगदान दिएका छन्। उनी साधना कला केन्द्रका संस्थापक तथा सञ्चालक हुन्, जुन आज नेपाली कला प्रशिक्षणको एक भरोसायोग्य केन्द्रको रूपमा स्थापित छ।
२०२३ साल ०७ महिना १४ गते इलामको सलकपुरमा जन्मिएका मिलन मोक्तान किसान परिवारका कान्छा छोरा हुन्। बुवा नरबहादुर मोक्तान र आमा आईती मायाँ मोक्तानको श्रम, अनुशासन र सरल जीवनशैलीले उनको चरित्र निर्माणमा गहिरो प्रभाव पारेको देखिन्छ।
हाल बसुन्धरा हाइट, काठमाडौंमा स्थायी रूपमा बसोबास गर्दै आएका मिलन मोक्तान पारिवारिक जीवनमा पनि उत्तिकै समर्पित छन्। उनकी श्रीमती दिपा मोक्तान, छोरा सडज मोक्तान र छोरी साधना मोक्तानले उनको जीवन यात्रामा निरन्तर साथ र प्रेरणा दिँदै आएका छन्।
बाल्यकालमै संगीतप्रति गहिरो आकर्षण राख्ने मिलन मोक्तान बुवाको डरले लुकेर बासुरी बजाउँथे। गाउँ बजारमा बासुरीको मिठो धुन सुनेर मानिसहरूले प्रशंसा गर्दा उनले पहिलो पटक आफ्नो कला पहिचानको अनुभूति गरे, जसले उनलाई जीवनभर संगीतको बाटोमा डोर्यायो।
सपना बोकेर काठमाडौं आएका मिलन मोक्तानका सुरुवाती दिनहरू संघर्षपूर्ण रहे। घरबेटीको घरमा भाँडा माझ्ने, लुगा धुने तथा किताब पसलमा काम गर्दै जीवन चलाए। यसै क्रममा गुरु गोपालनाथ योगीसँग तीन महिना कठोर साधना गरी उनले आफ्नो संगीत सीपलाई निखार दिए।
उनले औपचारिक शिक्षा रत्न राज्य क्याम्पस, भृकुटीमण्डपबाट आईए सम्म पूरा गरे। पढाइ र साधनालाई सँगसँगै अघि बढाउँदै उनले संगीतलाई पेशागत र जीवन दर्शन दुवै बनाए।
मिलन मोक्तानले सोल्टी होटलमा ११ वर्षसम्म बासुरी र गिटार वादकको रूपमा काम गरे। यही अवधिमा उनले व्यावसायिक संगीतको अनुशासन, मञ्चीय प्रस्तुति र अन्तर्राष्ट्रिय स्तरको अनुभव हासिल गरे।
२०४६ सालमा स्थापना गरिएको साधना कला केन्द्र मिलन मोक्तानको जीवनको ऐतिहासिक उपलब्धि हो। स्काई टावर र घण्टाघरको बीचमा रहेको यस केन्द्रले ३६ वर्षभन्दा बढी समयदेखि निरन्तर रूपमा संगीत, नृत्य र वाद्यवादनको प्रशिक्षण दिँदै आएको छ।
साधना कला केन्द्रमार्फत लोक, शास्त्रीय र आधुनिक गायनका साथै किबोर्ड, गिटार, बासुरी, मादल, सारङ्गी, टुङ्ना, पियानो, सितार र सबै प्रकारका नृत्य विधाको शिक्षा प्रदान गरिँदै आएको छ। यसले हजारौँ विद्यार्थीको प्रतिभा उजागर गरेको छ।
मिलन मोक्तानले सिद्धार्थ बनस्थली, महामञ्जुश्री स्कुल, ब्राइट फ्युचर, एल आर आई ईन्टरनेशनल, भिएस निकेतन , हिमालयन विद्या मन्दिर, प्रभात मावि, लिटल फ्लावर, बुद्ध प्राइमरी र होलील्यान्ड इन्टरनेशनल स्कुल लगायत थुप्रै विद्यालयमा संगीत तथा नृत्य प्रशिक्षकका रूपमा सेवा दिएका छन्।
नेपाली लोकसंस्कृतिलाई विश्वमञ्चमा चिनाउने उद्देश्यले उनले लण्डन, जर्मनी, फ्रान्स, लक्जेम्बर्ग, बेल्जियम, स्विजरल्यान्डलगायत युरोपका धेरै देशहरू भ्रमण गरेका छन्। साथै जापान, कोरिया, मलेसिया, इथियोपिया, भारत र चीनमा पनि सांस्कृतिक कार्यक्रमहरूमा सहभागिता जनाएका छन्।
२०५२ सालदेखि साधना कला केन्द्रमार्फत ‘साधना सम्मान’ परम्परा सुरु गरी १२ वर्ष निरन्तर स्रष्टाहरूलाई सम्मान गर्ने संस्कार बसाले। राष्ट्रिय लोकनृत्य प्रतियोगिता १० वर्षसम्म निरन्तर सञ्चालन गरी लोपोन्मुख संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेले। साधना कला केन्द्रको नेतृत्वमा आशा भोसले, रञ्जित गजमेर, गुलाम अली, जस्टिन डोमा लामा, अनुराधा पौडवाल, दीप नारायण झा लगायतका राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्यातिप्राप्त कलाकारहरूसँग ऐतिहासिक लाइभ कन्सर्ट तथा ट्रिब्युट कार्यक्रमहरू सफलतापूर्वक आयोजना गरिएका छन्।२००६ देखि २०१८ सम्म निरन्तर सम्पन्न गरिएको मिस तामाङ कार्यक्रमले आदिवासी पहिचानलाई संस्थागत उचाइ प्रदान गर्दै हाल मिस तामाङ वर्ल्ड का रूपमा अन्तर्राष्ट्रिय विस्तार लिइरहेको छ।
२०१९ मा आशा भोसले र रञ्जित गजमेरप्रति समर्पित विशेष ट्रिब्युट कन्सर्ट तथा २०२५ मार्च १५ मा गुलाम अलीसँग सम्पन्न “थ्री जेनेरेसन लाइभ कन्सर्ट” ले सांगीतिक इतिहासमा विशिष्ट अध्याय थपेको छ। मिलन मोक्तानको संगीत र मनोज खड्काको शब्दमा गुलाम अली को तीन पुस्ताद्वारा स्वरबद्ध नेपाली गीत–“गजल उनकै गित उनकै” ले नेपालको सृजनशील क्षमतालाई विश्वमञ्चमा प्रतिष्ठित बनाएको छ। कोभिड–१९ को विषम परिस्थितिमा राष्ट्रिय गीत प्रतियोगिता – “साधना अनलाइन ट्यालेन्ट हन्ट” जस्ता पहलमार्फत सांस्कृतिक निरन्तरता कायम राखियो। साथै, संगीत रत्न शम्भुजीत बास्कोटाको गोल्डेन जर्नी समारोह : अनुराधा पौडवाल, दीप नारायण झा, संजीवनी तथा नेपालका चर्चित कलाकारहरूको सहभागितामा सम्पन्न हुनु, र राजेश हमाल प्रति समर्पित “ट्रिब्युट टु मेगा स्टार” राजेश हमाल लाइभ कन्सर्ट – साधना सरगम र इन्द्रजीत मिजार सहित आयोजना हुनु, साथै सा रे ग म प लिटिल च्याम्प जि टिभि को बिजेता जस्टिन डोमा लामासँग सम्पन्न भव्य कन्सर्ट—यी सम्पूर्ण पहलकदमीहरूले साधना कला केन्द्रलाई केवल सांगीतिक संस्था मात्र नभई नेपाल–भारत सांस्कृतिक सेतु, कूटनीतिक सद्भाव र राष्ट्रगौरवको प्रतिष्ठित मञ्चका रूपमा सुदृढ स्थापित गरेका छन्।
५० देखि ६० भन्दा बढी नेपाली फिल्मका गीतमा संगीत भरेका मिलन मोक्तानका कृतिहरू नेपाली सिनेमा र संगीत क्षेत्रमा अमर बनेका छन्। उदित नारायण झा, डेनी डेन्जोङ्पा, अनुराधा पौडवाल जस्ता ख्यातिप्राप्त गायकहरूसँग उनको सहकार्य उल्लेखनीय छ।
साधना कला केन्द्रबाट राजु लामा, प्रमोद खरेल, सत्यराज आचार्य, धिराज राई, दीपक लिम्बु, खेमराज गुरुङ, जुना प्रसाईं लगायतका सफल गायक तथा दिलिप रायमाझी, निरुता सिंह, सृती झा जस्ता नृत्य कलाकार उत्पादन भएका छन्।
मिलन मोक्तानका अनुसार सफलताको मूल सूत्र साधना हो। कलाकारको अधिकार संरक्षणका लागि प्रतिलिपि ऐन र रोयल्टी व्यवस्था पूर्ण रूपमा लागू हुनुपर्ने धारणा राख्दै उनी पछिल्ला २० वर्षदेखि यस अभियानमा सक्रिय छन्।
उनले राजा वीरेन्द्र र राजा ज्ञानेन्द्रबाट गोरखा दक्षिण बाहु, राष्ट्रपति रामचन्द्र पौडेलबाट जनसेवा श्री लगायत थुप्रै राष्ट्रिय तथा संस्थागत सम्मान प्राप्त गरेका छन्।
मिलन मोक्तान म्युजिक एसोसिएसन अफ नेपालका अध्यक्ष, रोटरी क्लब माउन्ट एभरेस्ट ललितपुरका निर्देशक तथा संगीतकार संघका आजीवन सदस्य हुन्।
मिलन मोक्तानको जीवनकथा साधनाको शक्ति, संघर्षको सौन्दर्य र राष्ट्रसेवाको प्रेरणादायी उदाहरण हो। उनको यात्रा आजका र भोलिका पुस्ताका कलाकारहरूका लागि उज्यालो मार्गदर्शन बनेको छ।


प्रतिकृया दिनुहोस्