करिब सय दिनपछि ओलीमाथिको स्थान हद फुकुवा, जाँचबुझ आयोगको निर्णय

करिब सय दिनपछि ओलीमाथिको स्थान हद फुकुवा, जाँचबुझ आयोगको निर्णय

काठमाडौं।
पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि लगाइएको स्थान हद अन्ततः फुकुवा गरिएको छ। भदौ २३ र २४ गते भएका घटनाको छानबिनका लागि गठन गरिएको जाँचबुझ आयोगले सोमबार ओलीलाई तोकिएको स्थान हद हटाएको हो।

यसअघि आयोगको निर्णयअनुसार ओलीलाई असोज १२ गतेदेखि विदेश जान तथा अनुमतिबिना काठमाडौं उपत्यका बाहिर जान रोकलगाइएको थियो। आयोगले जारी गरेको विज्ञप्तिमा ओलीसँग आइतबार सोधपुछ तथा आवश्यक बुझ्ने कार्य सम्पन्न भइसकेको उल्लेख गरिएको छ।

झन्डै सय दिनभन्दा बढी समयपछि स्थान हद फुकुवा भएसँगै ओलीको राजनीतिक गतिविधिमा पुनः गति आउने संकेत देखिएको छ। आयोगका प्रवक्ता विज्ञानराज शर्माद्वारा जारी प्रेस विज्ञप्तिमा स्थान हद फुकुवाबारे ओलीलाई औपचारिक रूपमा जानकारी गराइने उल्लेख छ।

यसअघि ओलीले आफूमाथि स्थान हद लगाइएको विषयमा औपचारिक जानकारी नै नदिइएको भन्दै असन्तुष्टि व्यक्त गर्दै आएका थिए। स्थान हद फुकुवा भएसँगै एमालेभित्र र समग्र राजनीतिक वृत्तमा नयाँ तरंग पैदा भएको छ।