नेपाल–भारत स्टार्टअप साझेदारीले युनिकर्नको बाटो खोल्दै, आईटी निर्यात १ बिलियन डलरतर्फ!
काठमाडौँ: नेपाल–भारतबीचको स्टार्टअप साझेदारीले नयाँ उचाइ लिँदै गर्दा नेपाललाई युनिकर्न उत्पादन गर्ने देश बनाउने सम्भावना बलियो बन्दै गएको छ। नेपालको सूचना प्रविधि (आईटी) निर्यात ५ सय मिलियनदेखि १ बिलियन डलरसम्म पुग्न सक्ने अनुमान गरिएको छ।
ललितपुरको होटल रोयल टुलिपमा शनिबार सम्पन्न ‘स्टार्टअप समिट नेपाल २०२५’ मा नेपाल र भारतका उद्यमी, नीति निर्माता र विज्ञहरूले स्टार्टअप इकोसिस्टम विस्तारका लागि दुई देशबीचको सहकार्य निर्णायक हुने निष्कर्ष निकाले।
“नेपाल र भारतका युवामा अपार ऊर्जा छ, यसलाई स्टार्टअपमार्फत आर्थिक विकासको आधार बनाउन सकिन्छ,”
— मन्जिभसिंह पुरी, नेपालका लागि पूर्वभारतीय राजदूत
कार्यक्रममा भारत सरकारले स्टार्टअप क्षेत्रलाई दिएको उच्च प्राथमिकता र नेपालमा स्टार्टअपहरूले स्केलिङमा भोगिरहेका चुनौतीहरूमाथि गहिरो छलफल भयो।
सीजी कोर ग्लोबलका प्रबन्ध निर्देशक वरुण चौधरीले नेपाल र भारतलाई ‘स्वाभाविक साझेदार’ भन्दै नेपाली स्टार्टअप भारतीय बजारमा टिक्न सके विश्वव्यापी सफलता सम्भव हुने दाबी गरे।
“अर्का अर्बपति कुनै परिवारबाट होइन, स्टार्टअप इकोसिस्टमबाट जन्मिनेछन्,”
— वरुण चौधरी
नेपाल–भारत उद्योग वाणिज्य संघ (NICCI) का दिलीप भट्टराईले अब संघ सहजीकरणमा मात्र सीमित नरही लगानी प्रवर्द्धनमा आक्रामक रूपमा अघि बढेको बताए। दिल्लीमा NICCI को कार्यालय र नेपालमा ठूलो इन्क्युवेसन सेन्टर निर्माणको तयारीसमेत भइरहेको जानकारी दिइयो।
आईटी विज्ञ हेमपाल श्रेष्ठका अनुसार नेपालको आईटी क्षेत्र अहिले सन् १९८० को दशकको भारतजस्तै अवस्थामा छ, जहाँबाट ठूलो फड्को मार्ने अवसर छ।
“३ करोडको बजारमा सीमित नबनौँ, १ सय करोडभन्दा बढी जनसंख्या भएको भारत हाम्रो ढोका अगाडि छ,”
— हेमपाल श्रेष्ठ
कान्तिपुर मिडिया ग्रुपका सीईओ महेश स्वाँरले स्टार्टअप प्रवर्द्धनमा मिडियाको भूमिका निर्णायक हुने बताए भने मिडिया नाइनकी सम्पादक चारु चड्डाले सामाजिक सञ्जालसँगै स्थापित मिडियाको विश्वसनीयता आवश्यक रहेको धारणा राखिन्।
सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल प्रमुख अतिथिका रूपमा सहभागी भए भने स्टार्टअप पिचिङ प्रतिस्पर्धामार्फत युवा उद्यमीहरूले आफ्ना नवीन आइडिया प्रस्तुत गरे।
नेपाल–भारत स्टार्टअप साझेदारी: अब सम्भावना होइन, अवसरको विस्फोट!



प्रतिकृया दिनुहोस्