कुमारी बैंकको मोबाइल बैंकिङ एपमा IRD प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध

कुमारी बैंकको मोबाइल बैंकिङ एपमा IRD प्रोत्साहन कार्यक्रम सुविधा उपलब्ध

काठमाडौं — कुमारी बैंक लिमिटेडले नेपाल सरकार तथा आन्तरिक राजस्व विभागको करदाता प्रोत्साहन कार्यक्रमलाई सहयोग पुर्‍याउने उद्देश्यले आफ्नै मोबाइल बैंकिङ एपमा IRD Incentive Program सुविधा उपलब्ध गराएको छ।

आर्थिक वर्ष २०८३/८४ को बजेटमार्फत सुरु गरिएको यस कार्यक्रमले उपभोक्तालाई प्यान तथा भ्याट बिल लिन प्रोत्साहन गर्नुका साथै डिजिटल भुक्तानी, कर अनुपालन र वित्तीय पारदर्शिता प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।

यस सुविधामार्फत कुमारी बैंकका ग्राहकहरूले नेपालभित्र व्यक्तिगत प्रयोजनका लागि रु. १०० भन्दा बढीको वस्तु वा सेवा खरिद गरी व्यापारीको Merchant QR मार्फत भुक्तानी गर्दा स्वतः पुरस्कार योजनामा सहभागी हुन सक्नेछन्।

ग्राहकहरूले Kumari Smart मोबाइल बैंकिङ एपको IRD प्रोत्साहन कार्यक्रम मेनुमार्फत आफूले गरेका योग्य कारोबारको संख्या, कारोबार विवरण तथा पुरस्कार प्राप्त गरेको अवस्था सहज रूपमा हेर्न सक्ने बैंकले जनाएको छ। यसले डिजिटल भुक्तानी गर्न, प्यान/भ्याट बिल लिन तथा औपचारिक कारोबारलाई प्रोत्साहन गर्ने अपेक्षा गरिएको छ।

आन्तरिक राजस्व विभागको व्यवस्थाअनुसार योग्य कारोबारमध्येबाट दैनिक लक्की ड्रमार्फत एक जना ग्राहकले कर कट्टीपश्चात् रु. १ लाख नगद पुरस्कार प्राप्त गर्नेछन्।

त्यस्तै, प्रत्येक १५ दिनमा एक जना भाग्यशाली ग्राहकले रु. १० लाख बराबरको बम्पर पुरस्कार प्राप्त गर्ने व्यवस्था रहेको बैंकले जनाएको छ।

कुमारी बैंकले आफ्ना ग्राहकलाई व्यापारीको QR मार्फत भुक्तानी गर्न, प्यान तथा भ्याट बिल लिन, बिल सुरक्षित राख्न तथा नियमित रूपमा IRD प्रोत्साहन कार्यक्रमको सुविधा प्रयोग गरी आफ्नो योग्यताको अवस्था जाँच गर्न आग्रह गरेको छ।

बैंकका अनुसार यो अभियानले डिजिटल कारोबार विस्तार गर्नुका साथै नगदरहित अर्थतन्त्र निर्माण, कर अनुपालन वृद्धि तथा वित्तीय पारदर्शिता सुदृढीकरणमा योगदान पुर्‍याउने विश्वास लिइएको छ।

विगत २५ वर्षदेखि निरन्तर बैंकिङ सेवा प्रदान गर्दै आएको कुमारी बैंक लिमिटेडले हाल देशभर फैलिएका २८५ शाखा, ४१ विस्तार काउन्टर, ३०२ एटीएम तथा ४० शाखारहित बैंकिङ इकाइमार्फत ग्राहकलाई सेवा दिँदै आएको जनाएको छ।

बैंकले शहरी, अर्ध–शहरी तथा ग्रामीण क्षेत्रसम्म आफ्नो सेवा विस्तार गर्दै नेपालका विभिन्न स्थानमा बसोबास गर्ने नागरिकलाई सहज, सुरक्षित र गुणस्तरीय बैंकिङ सेवा उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ।