एनएमबि बैंकको अगुवाइमा ६५ मेगावाटको दूधखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबि बैंकको अगुवाइमा ६५ मेगावाटको दूधखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन

काठमाडौं । एनएमबि बैंक लिमिटेडको अगुवाइमा मनाङमा निर्माणाधीन ६५ मेगावाट क्षमताको दूधखोला जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन (Financial Closure) सम्पन्न भएको छ।

दूधखोला हाइड्रो पावर कम्पनी प्रालिद्वारा प्रवर्द्धित आयोजनामा माउन्टेन इनर्जी नेपाल लिमिटेड तथा सीताराम तिमिल्सिनाको समूह प्रमुख लगानीकर्ताका रूपमा रहेका छन्। आयोजनाको कुल अनुमानित लागत १२ अर्ब ९० करोड रुपैयाँ रहेको छ भने त्यसमध्ये ९ अर्ब ६७ करोड रुपैयाँ बैंक कर्जामार्फत जुटाइनेछ।

कन्सोर्टियम फाइनान्सिङअन्तर्गत एनएमबि बैंक प्रमुख बैंक (Lead Bank) तथा सानिमा बैंक सह–प्रमुख बैंक (Co-Lead Bank) का रूपमा रहेका छन्। यस आयोजनासँगै एनएमबि बैंकको जलविद्युत् क्षेत्रमा लगानी भएका आयोजनाको संख्या ५० भन्दा बढी पुगेको बैंकले जनाएको छ।

वित्तीय सम्झौतामा एनएमबि बैंकका तर्फबाट सहायक महाप्रबन्धक दिनेश दुलाल र दूधखोला हाइड्रो पावर कम्पनीका तर्फबाट अध्यक्ष अरुणकुमार केसीले हस्ताक्षर गरेका छन्।

नेपाल राष्ट्र बैंकको Environmental and Social Risk Management (ESRM) Guidelines, 2022 अनुरूप आयोजनाको वातावरणीय तथा सामाजिक जोखिम मूल्यांकन गरिएको बैंकले जनाएको छ। साथै, अन्तर्राष्ट्रिय अभ्यासलाई आधार बनाउँदै Hydropower Sustainability Alliance (HSA) द्वारा विकसित Hydroselect Tool प्रयोग गरी आयोजनाको वातावरणीय, सामाजिक तथा सुशासन (ESG) पक्षको प्रारम्भिक मूल्यांकन गरिएको थियो।

एनएमबि बैंकले देशभर १९८ शाखा, १७६ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ।