एनएमबी बैंकद्वारा सबै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ सुरु
काठमाडौं, नेपाल — एनएमबी बैंक लिमिटेडले नेपालका सातवटै प्रदेशका लागि ‘प्रदेश बचत खाता’ योजना सुरु गरेको छ। देशका विभिन्न भागमा रहेका ग्राहकहरूको स्थानीय पहिचान र वित्तीय आवश्यकतालाई ध्यानमा राख्दै बैंकले यो नयाँ बचत योजना ल्याएको हो।
एनएमबी बैंकले सातै प्रदेशका लागि सातवटा विशेष खाता योजना सञ्चालनमा ल्याएको छ। जसअन्तर्गत कोशी प्रदेशका लागि कोशी बचत खाता, मधेश प्रदेशका लागि मिथिला बचत खाता, बागमती प्रदेशका लागि बागमती बचत खाता, गण्डकी प्रदेशका लागि फेवा बचत खाता, लुम्बिनी प्रदेशका लागि बुद्धभूमि बचत खाता, कर्णाली प्रदेशका लागि रारा बचत खाता र सुदूरपश्चिम प्रदेशका लागि खप्तड बचत खाता रहेका छन्।
डिजिटल बैंकिङ र बचतलाई प्रोत्साहन गर्ने उद्देश्यले यस योजनामा धेरै आकर्षक सुविधाहरू समावेश गरिएको बैंकले जनाएको छ। ग्राहकहरूले पहिलो वर्षका लागि निःशुल्क मोबाइल बैंकिङ, निःशुल्क इन्टरनेट बैंकिङ, निःशुल्क भिसा डेबिट कार्ड, साथै पहिलो वर्षका लागि निःशुल्क डिम्याट (DEMAT) र मेरोसेयर (MeroShare) खाता दर्ता सुविधा सहित अन्य धेरै थप सुविधाहरू प्राप्त गर्नेछन्।
यस बचत खाताको सुरुवातमार्फत एनएमबी बैंकले देशका सबै भागमा सहज, आधुनिक र डिजिटल बैंकिङ सेवा पुर्याउने आफ्नो लक्ष्यलाई अझ अघि बढाएको जनाएको छ।
हाल एनएमबी बैंकले देशभर १९८ शाखा, १७६ एटीएम र ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको छ।



प्रतिकृया दिनुहोस्