विदेश पठाइदिने भन्दै लाखौं ठगी गर्ने दुई जना पक्राउ, ९ जना पीडितबाट १४ लाखभन्दा बढी असुली

विदेश पठाइदिने भन्दै लाखौं ठगी गर्ने दुई जना पक्राउ, ९ जना पीडितबाट १४ लाखभन्दा बढी असुली

काठमाडौं, आकर्षक तलबको प्रलोभन देखाउँदै वैदेशिक रोजगारीका नाममा १४ लाख रुपैयाँभन्दा बढी ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा दोलखा शैलुङ गाउँपालिका–४ घर भई हाल भक्तपुर सूर्यविनायक–९ बस्ने ३९ वर्षीय दावा योञ्जनबारा आदर्श कोटवाल गाउँपालिका–४ घर भई हाल काठमाडौं कागेश्वरी मनोहरा–८ बस्ने २७ वर्षीय अनिल कुमार यादव रहेका छन्।

प्रहरीका अनुसार दावा योञ्जनले सर्विया र यूएई पठाइदिने भन्दै ७ जना पीडितबाट ११ लाख ४५ हजार रुपैयाँ असुलेका थिए भने अनिल कुमार यादवले मलेसिया पठाइदिने भन्दै २ जना पीडितबाट २ लाख ८७ हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएका थिए।

पीडितहरूको उजुरीका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले दावालाई भक्तपुरबाट र अनिललाई काठमाडौंबाट पक्राउ गरेको हो।

दुवै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको प्रहरीले जनाएको छ।

वैदेशिक रोजगारीमा जानुअघि सम्बन्धित म्यानपावर कम्पनी र प्रक्रियाको आधिकारिक रूपमा पुष्टि गर्न प्रहरीले आग्रह गरेको छ।