बाढीपीडितको निःशुल्क उपचारमा ग्रीन सिटी अस्पतालको मानवीय साथ, अध्यक्ष टण्डनको उदारताको सर्वत्र प्रशंसा
काठमाडौं । विपद्को समयमा मानिसको वास्तविक पहिचान उसको बोलीले होइन, उसले देखाउने मानवताले हुन्छ। भदौ १० गते चीनतर्फ हिमताल फुटेपछि आएको हिमनदीजन्य बाढीबाट प्रभावित नागरिकको उपचारमा ग्रीन सिटी अस्पतालले मानवीय सेवाको अनुकरणीय उदाहरण प्रस्तुत गरेको छ।
बाढीका कारण परिवारका सदस्य गुमाउनुभएकी ९४ वर्षीया इन्द्रकुमारी ढकाल हाल ग्रीन सिटी अस्पतालको आईसीयूमा निरन्तर उपचाररत हुनुहुन्छ। उहाँको उपचारमा लाग्ने सम्पूर्ण खर्च अस्पतालले निःशुल्क रूपमा व्यहोर्दै आएको छ।
त्यस्तै, नुवाकोटका ३४ वर्षीय ध्रुव ढुंगाना, ३० वर्षीया सङ्गिता पोखरेल र ४० वर्षीय तेन्जिङ तामाङले ग्रीन सिटी अस्पतालमा निःशुल्क उपचार पाएपछि पूर्ण रूपमा निको भई घर फर्किनुभएको छ।
बाढीपीडित नागरिकको दुःखलाई आफ्नै दुःख सम्झँदै अस्पतालले उपचारमा कुनै शुल्क नलिनु मानवीय सेवाको प्रशंसनीय उदाहरण बनेको छ।
ग्रीन सिटी अस्पतालका अध्यक्ष लोकबहादुर टण्डनले विपद्को समयमा आर्थिक अभावका कारण कुनै पनि नागरिक उपचारबाट वञ्चित हुन नपरोस् भन्ने मान्यताका साथ बाढीपीडितका लागि अस्पतालको ढोका खुला रहेको बताउनुभएको छ।
उहाँले ठाँटी खबरका प्रधान सम्पादक दामोदर भट्टसँगको कुराकानीका क्रममा बाढीबाट प्रभावित जोकोही बिरामीलाई आवश्यक परे निःशुल्क उपचारका लागि आफू, अस्पताल र सम्पूर्ण स्वास्थ्यकर्मीको टोली तयार रहेको बताउनुभयो।
अध्यक्ष टण्डनको यो मानवीय प्रतिबद्धताले स्वास्थ्य सेवा व्यवसाय मात्र नभई मानव जीवन बचाउने र पीडामा साथ दिने सामाजिक जिम्मेवारी पनि हो भन्ने सन्देश दिएको छ।
बिरामीको अनुहारमा फर्किएको मुस्कानलाई आफ्नो सबैभन्दा ठूलो कमाइ मान्दै आउनुभएका टण्डनले विपद्को समयमा व्यवहारमै त्यही मान्यतालाई प्रमाणित गर्नुभएको छ।
बाढीको पीडामा मल्हम लगाउँदै निःशुल्क उपचारको हात बढाएको ग्रीन सिटी अस्पताल र अध्यक्ष लोकबहादुर टण्डनको यो कदम स्वास्थ्य क्षेत्रकै लागि अनुकरणीय मानवीय उदाहरण बनेको छ।



प्रतिकृया दिनुहोस्