विश्वसनीय अनुसन्धानको १६ वर्ष: केन्द्रीय अनुसन्धान ब्यूरोको गौरवपूर्ण यात्रा, उत्कृष्ट योगदानकर्तालाई सम्मान
काठमाडौं, नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले आफ्नो १६औँ वार्षिकोत्सव भव्य रूपमा मनाउँदै अपराध अनुसन्धानमा विशिष्ट योगदान पुर्याउने पूर्व प्रमुख, अवकाशप्राप्त प्रहरी कर्मचारी तथा विभिन्न निकायका व्यक्तित्वहरूलाई सम्मान गरेको छ।
नेपाल पुलिस क्लब, भृकुटीमण्डपमा आयोजित समारोहका प्रमुख अतिथि प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले सम्मानपत्र तथा कदरपत्र प्रदान गर्नुका साथै ‘CIB Magazine’ को लोकार्पण गर्नुभयो।
कार्यक्रमलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले स्थापनाकालदेखि नै जघन्य, संगठित, आर्थिक तथा जटिल अपराध अनुसन्धानमा CIB ले खेलेको भूमिका राष्ट्रका लागि गौरवपूर्ण रहेको बताउनुभयो। उहाँले निष्पक्ष, विश्वसनीय र व्यावसायिक अनुसन्धानमार्फत नागरिकको विश्वास अझ मजबुत बनाउँदै न्याय प्रणालीलाई सुदृढ बनाउन ब्यूरो सफल हुने विश्वास व्यक्त गर्नुभयो।
उहाँले ‘अनुसन्धान अनि मात्र पक्राउ’ भन्ने सिद्धान्तलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै आधुनिक प्रविधिको प्रयोग, अन्तर्राष्ट्रिय सहकार्य र अनुसन्धान क्षमताको विकासमा विशेष जोड दिनुपर्ने उल्लेख गर्नुभयो। डिजिटल प्रविधि, सीमापार अपराध तथा अन्तर्राष्ट्रिय आपराधिक सञ्जालविरुद्ध प्रभावकारी अनुसन्धान गर्दै ‘विश्वसनीयता, निष्पक्षता र साहस’ भन्ने आदर्शलाई कायम राख्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।
कार्यक्रममा पूर्वमन्त्री तथा अवकाशप्राप्त प्रहरी अतिरिक्त महानिरीक्षक राजेन्द्र सिंह भण्डारी, नेपाल पत्रकार महासंघकी केन्द्रीय अध्यक्ष निर्मला शर्मा लगायत विशिष्ट व्यक्तित्वहरूले शुभकामना व्यक्त गर्नुभएको थियो। ब्यूरोका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमाप्रसाद चतुर्बेदीले धन्यवाद ज्ञापन गर्नुभएको कार्यक्रममा प्रहरी नायव महानिरीक्षक माधवप्रसाद श्रेष्ठले स्वागत मन्तव्य व्यक्त गर्नुभएको थियो।
नेपाल प्रहरीका पूर्व तथा बहालवाला उच्च अधिकारी, विभिन्न मन्त्रालयका प्रतिनिधि, न्याय क्षेत्रका पदाधिकारी, पत्रकार तथा विशिष्ट अतिथिहरूको उल्लेखनीय सहभागितामा सम्पन्न कार्यक्रमले CIB को १६ वर्षे उपलब्धि, अनुसन्धानमा उत्कृष्टता र नागरिकप्रतिको प्रतिबद्धतालाई थप सशक्त रूपमा उजागर गरेको छ।
(तस्बिर: नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय)



प्रतिकृया दिनुहोस्