युनाइटेड अजोडका सिईओले पाए झण्डै १ करोड पारिश्रमिक

युनाइटेड अजोडका सिईओले पाए झण्डै १ करोड पारिश्रमिक

काठमाडौं। युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले आर्थिक वर्ष २०८१/८२ मा प्रमुख कार्यकारी अधिकृत (सिईओ) लाई तलब, भत्ता तथा अन्य सुविधासहित कुल ९७ लाख ४९ हजार ८८० रुपैयाँ पारिश्रमिक उपलब्ध गराएको छ। कम्पनीको वार्षिक प्रतिवेदनअनुसार हाल सिईओको जिम्मेवारी सम्हालिरहेका नारायणकुमार भट्टराई ले केही महिनाअघि मात्रै पदभार ग्रहण गरेका हुन्।

वार्षिक प्रतिवेदनमा उल्लेख भएअनुसार सिईओले तलबबापत ४३ लाख ६ हजार ८३३ रुपैयाँ, विभिन्न सुविधाबापत ५० लाख २४ हजार ८२७ रुपैयाँ तथा बीमा सम्बन्धी सुविधाबापत ४ लाख १८ हजार २१९ रुपैयाँ प्राप्त गरेका छन्। यससँगै उनको कुल वार्षिक पारिश्रमिक ९७ लाख ४९ हजार ८८० रुपैयाँ पुगेको हो।

यसैबीच, कम्पनीभित्र सञ्चालक र व्यवस्थापनबीच समन्वय तथा निर्णय प्रक्रियालाई लिएर लामो समयदेखि विवाद रहेको भन्दै विभिन्न पक्षले चिन्ता व्यक्त गर्दै आएका छन्। केही लगानीकर्ताले यस्ता आन्तरिक विवादले कम्पनीको सुशासन र व्यवस्थापकीय कार्यसम्पादनमा असर परेको दाबी गरेका छन्।

यता, कम्पनीले गत पुस मसान्तभित्र सम्पन्न गर्नुपर्ने वार्षिक साधारणसभा समयमै गर्न नसकी ढिलो गरी आह्वान गरेको छ। तोकिएको समयसीमा नाघेर साधारणसभा हुँदा नियामकीय व्यवस्थाअनुसार जरिवाना लाग्न सक्ने अवस्था रहेको छ।

केही सर्वसाधारण सेयरधनीहरूले कम्पनीभित्रको व्यवस्थापकीय विवादका कारण हुने अतिरिक्त आर्थिक भार अन्ततः कम्पनी र लगानीकर्तामाथि पर्ने भन्दै असन्तुष्टि व्यक्त गरेका छन्। उनीहरूले कम्पनीमा प्रभावकारी सुशासन, पारदर्शी निर्णय प्रक्रिया र समयमै कानुनी दायित्व पूरा गर्न व्यवस्थापन तथा सञ्चालक समितिको ध्यानाकर्षण गराएका छन्।

कम्पनीभित्रको हस्तक्षेप, सुशासनसम्बन्धी समस्या तथा नियामकीय निगरानीबारे उल्लेखित विषयहरू विभिन्न पक्षका दाबी र सार्वजनिक चर्चामा आधारित हुन्। यसबारे युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको आधिकारिक प्रतिक्रिया सार्वजनिक भएको छैन।