दिगो बैंकिङ प्रवर्द्धनका लागि कुमारी बैंक र जर्मनीस्थित DSIK बीच रणनीतिक साझेदारी
काठमाडौं। सेवा, प्रक्रिया तथा रणनीतिक साझेदारीमार्फत दिगो विकासप्रति प्रतिबद्ध कुमारी बैंक लिमिटेडले दिगो बैंकिङ अभ्यास प्रवर्द्धनका लागि जर्मनीस्थित डोइचे स्पारकासेनस्टिफ्टुङ फ्युर इन्टरनासियोनाले कोओपरेशन (Deutsche Sparkassenstiftung für internationale Kooperation–DSIK) सँग रणनीतिक परियोजना सम्झौता गरेको छ। जर्मनीको संघीय आर्थिक सहयोग तथा विकास मन्त्रालय (BMZ) को सहयोगमा सञ्चालित “छनोट गरिएका एसियाली देशहरूको वित्तीय क्षेत्रको सामाजिक–पर्यावरणीय रूपान्तरण”अभियानअन्तर्गत यो साझेदारी गरिएको हो।
सम्झौतापत्रमा कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल तथा DSIK का एसिया डिभिजन प्रमुख डा. इलोन्का रुइले–स्टर्न ले हस्ताक्षर गरेका हुन्। दिगो बैंकिङका लागि हरित बैंकिङ अभ्यासलाई संस्थागत तथा विस्तार गर्न यो साझेदारीलाई दुई चरणमा कार्यान्वयन गरिने जनाइएको छ।
कुमारी बैंकका दिगो बैंकिङ विभाग प्रमुख अर्पण पौडेल ले यो सम्झौताले कुमारी बैंकको दिगो बैंकिङ यात्रामा महत्वपूर्ण मोड ल्याएको बताएका छन्। उनका अनुसार साझेदार संस्थाको प्राविधिक सहयोग तथा नेपाल ग्रीन फाइनान्स ट्याक्सोनोमी–२०२४ को मार्गदर्शनअनुसार बैंकले आफ्ना बैंकिङ अभ्यासलाई अन्तर्राष्ट्रिय अनुभव र मापदण्डअनुसार थप परिष्कृत गर्दै हरित वित्त, न्यून कार्बन उत्सर्जन तथा दिगो उद्यमशीलताको प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
सम्झौताअनुसार DSIK ले ESG Risk Radar र Sustainable Finance Compass लगायत आफ्ना विशेष प्राविधिक उपकरणमार्फत सहयोग उपलब्ध गराउनेछ। साथै, ग्रामीण क्षेत्र तथा साना–मझौला उद्यम (SMEs) को क्षमता अभिवृद्धिका लागि DSIK Business Gamesकार्यक्रम पनि सञ्चालन गरिनेछ।
नेपालका अग्रणी वित्तीय संस्थामध्ये एक कुमारी बैंकले आफ्नो सुदृढ सञ्जालमार्फत यी कार्यक्रमलाई देशव्यापी रूपमा विस्तार गर्ने जनाएको छ। हाल बैंकका देशभर २८६ शाखा, ३०३ एटीएम, ४१ एक्सटेन्सन काउन्टर, ४० शाखारहित बैंकिङ इकाइ तथा १,१०० भन्दा बढी पीओएस (POS) टर्मिनल सञ्चालनमा रहेका छन्। बैंकले अत्याधुनिक डिजिटल बैंकिङ, मोबाइल बैंकिङ तथा अन्तर्राष्ट्रिय भिसा कार्ड सेवामार्फत पनि ग्राहकलाई सेवा प्रदान गर्दै आएको छ।
ग्राहकमैत्री नवप्रवर्तन, पारदर्शी कार्यशैली र सुदृढ संस्थागत सुशासनका लागि परिचित कुमारी बैंकले DSIK सँगको यो सहकार्यले नेपालको दिगो आर्थिक विकास तथा स्वच्छ र जलवायु–उत्थानशील भविष्य निर्माणमा महत्वपूर्ण योगदान पुग्ने विश्वास व्यक्त गरेको छ।
(फोटो/समाचार स्रोत : कुमारी बैंक लिमिटेड)



प्रतिकृया दिनुहोस्