कुमारी बैंकद्वारा गौमुल गाउँपालिकाका ६ सामुदायिक विद्यालयलाई स्मार्ट टेलिभिजन हस्तान्तरण
काठमाडौं। कुमारी बैंक लिमिटेडले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व (CSR) कार्यक्रमअन्तर्गत बाजुराको गौमुल गाउँपालिकाका सामुदायिक विद्यालयहरूलाई स्मार्ट टेलिभिजन हस्तान्तरण गरेको छ।
बैंकले गौमुल शाखामार्फत गाउँपालिकासँगको समन्वयमा विद्यालयहरूमा सूचना तथा सञ्चार प्रविधिमा आधारित शिक्षण–सिकाइलाई प्रवर्द्धन गर्ने उद्देश्यले स्मार्ट टेलिभिजन उपलब्ध गराएको जनाएको छ।
यस सहयोगबाट दुर्गम क्षेत्रमा अध्ययनरत विद्यार्थीहरूलाई डिजिटल शिक्षण सामग्रीमा पहुँच विस्तार हुने, प्रविधिमैत्री सिकाइ वातावरण निर्माण हुने तथा गुणस्तरीय शिक्षामा टेवा पुग्ने अपेक्षा गरिएको बैंकले जनाएको छ।
स्मार्ट टेलिभिजन प्राप्त गर्ने विद्यालयहरूमा श्री मानाकोट माध्यमिक विद्यालय, श्री जनज्योति माध्यमिक विद्यालय, श्री अम्लिस माध्यमिक विद्यालय, श्री फूलपाता माध्यमिक विद्यालय, श्री किर्तिचौर माध्यमिक विद्यालय र श्री बालविकास माध्यमिक विद्यालय रहेका छन्।
बैंकका अनुसार भौगोलिक कठिनाइका कारण आधुनिक शैक्षिक स्रोत–साधनको पहुँच सीमित रहेका विद्यालयमा यस सहयोगले शिक्षण–सिकाइ प्रक्रियालाई थप प्रभावकारी, आकर्षक र प्रविधिमैत्री बनाउन मद्दत पुग्नेछ।
कुमारी बैंकले शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता, वातावरण संरक्षण तथा सामुदायिक विकासका क्षेत्रमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत विभिन्न कार्यक्रम सञ्चालन गर्दै आएको जनाएको छ। बैंकले आगामी दिनमा पनि सामाजिक विकास र गुणस्तरीय शिक्षाको प्रवर्द्धनका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गरेको छ।



प्रतिकृया दिनुहोस्