नेपाल प्रहरीलाई अमेरिकी दूतावासको अत्याधुनिक डिजिटल फरेन्सिक सहयोग, साइबर अपराध अनुसन्धान अब अझ प्रभावकारी हुने

नेपाल प्रहरीलाई अमेरिकी दूतावासको अत्याधुनिक डिजिटल फरेन्सिक सहयोग, साइबर अपराध अनुसन्धान अब अझ प्रभावकारी हुने

काठमाडौं। नेपाल प्रहरीको डिजिटल फरेन्सिक क्षमता सुदृढ बनाउन नेपालस्थित अमेरिकी दूतावासले अत्याधुनिक डिजिटल फरेन्सिक उपकरण, विशेष सफ्टवेयर तथा प्राविधिक सामग्री हस्तान्तरण गरेको छ।

नेपाल प्रहरी प्रधान कार्यालयमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दानबहादुर कार्की र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत स्कट अर्बमको उपस्थितिमा उक्त उपकरण औपचारिक रूपमा हस्तान्तरण गरिएको हो।

प्रहरी महानिरीक्षक कार्कीले यस्ता आधुनिक उपकरणले डिजिटल प्रमाण संकलन, संरक्षण र वैज्ञानिक विश्लेषणलाई थप प्रभावकारी बनाउने बताउँदै प्रविधिजन्य अपराध अनुसन्धान, साइबर सुरक्षा तथा आपतकालीन अवस्थामा छिटो र विश्वसनीय अनुसन्धान गर्न महत्वपूर्ण सहयोग पुग्ने विश्वास व्यक्त गर्नुभयो।

उहाँले अमेरिकी दूतावासबाट प्राप्त निरन्तर सहयोगलाई नेपाल–अमेरिका मित्रता, आपसी विश्वास र साझा प्रतिबद्धताको उदाहरणका रूपमा उल्लेख गर्नुभयो।

कार्यवाहक राजदूत स्कट अर्बमले पनि हस्तान्तरण गरिएका उपकरणले नेपाल प्रहरीको डिजिटल फरेन्सिक ल्याबलाई अझ सक्षम बनाउँदै अपराध अनुसन्धान र प्रमाण संकलनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास व्यक्त गर्नुभयो।

यस कार्यक्रममा नेपाल प्रहरीका वरिष्ठ अधिकारी तथा अमेरिकी दूतावासका प्रतिनिधिहरूको समेत सहभागिता रहेको थियो।


(तस्बिर/समाचार स्रोत: नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय)