सुनसरीमा प्रहरीको ठूलो सफलता : १८ हजार ट्रामाडोल ट्याब्लेट बरामद, चालक मोटरसाइकल छाडेर फरार

सुनसरीमा प्रहरीको ठूलो सफलता : १८ हजार ट्रामाडोल ट्याब्लेट बरामद, चालक मोटरसाइकल छाडेर फरार

सुनसरी, सुनसरीमा लागूऔषधविरुद्धको अभियानमा प्रहरीले ठूलो सफलता हासिल गरेको छ। देवानगंज गाउँपालिका–२, मरिया खोला नजिकबाट १८ हजार ट्याब्लेट ट्रामाडोल बरामद गरिएको छ।

इलाका प्रहरी कार्यालय देवानगंजबाट खटिएको प्रहरी टोलीलाई देख्नासाथ को.२२ प २८१७ नम्बरको मोटरसाइकलका चालक मोटरसाइकल छाडेर फरार भएका थिए। त्यसपछि प्रहरीले मोटरसाइकलको तलासी गर्दा पछाडि बाँधिएको बोराभित्र लुकाइराखिएको १८ हजार ट्याब्लेट नियन्त्रित लागूऔषध ट्रामाडोल फेला पारेको हो।

घटनापछि फरार भएका चालकको खोजी तीव्र पारिएको प्रहरीले जनाएको छ। बरामद गरिएको लागूऔषधको स्रोत र संलग्न व्यक्तिहरूबारे थप अनुसन्धान भइरहेको छ।

लागूऔषध ओसारपसार रोक्न सुरक्षा निकायले विभिन्न क्षेत्रमा निगरानी र विशेष अभियानलाई थप प्रभावकारी बनाउँदै आएको जनाएको छ।