युरोपदेखि क्यानडासम्म पठाइदिन्छु- भन्दै करोडौं ठगी ! काठमाडौंबाट ६ जना पक्राउ

युरोपदेखि क्यानडासम्म पठाइदिन्छु- भन्दै करोडौं ठगी ! काठमाडौंबाट ६ जना पक्राउ

काठमाडौं — आकर्षक तलब, सजिलो भिसा र छिटो उडानको सपना देखाएर युवाहरूलाई ठगी गर्ने गिरोहका ६ जना पक्राउ परेका छन्। वैदेशिक रोजगारीको नाममा सर्विया, स्लोभाकिया, स्पेन, क्यानडा, यूएई, दक्षिण कोरिया र साइप्रस पठाइदिन्छु भन्दै लाखौं रकम असुलेर फरार भएका उनीहरूलाई प्रहरीले विभिन्न स्थानबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार पक्राउ पर्नेहरूमा शैलेन्द्र पाण्डे, सुमना अर्याल, विकास सुनार, बासुदेव श्रेष्ठ, धनबहादुर योङहाङ र नौमाया आले मगर रहेका छन्।

सबैभन्दा धेरै रकम शैलेन्द्र पाण्डेले असुलेको खुलेको छ। उनले सर्विया र स्लोभाकिया पठाइदिन्छु भन्दै १३ जना पीडितबाट ३५ लाख ७० हजार रुपैयाँ उठाएका थिए। यस्तै विकास सुनारले स्पेन पठाइदिने भन्दै १० जनाबाट १० लाख रुपैयाँ, बासुदेव श्रेष्ठले क्यानडा पठाइदिने भन्दै ७ लाख ५० हजार रुपैयाँ, नौमाया आले मगरले साइप्रस पठाइदिने भन्दै ६ लाख ४ हजार ५ सय रुपैयाँ ठगी गरेको आरोप छ।

त्यसैगरी सुमना अर्यालले यूएई पठाइदिन्छु भन्दै २ लाख ८२ हजार रुपैयाँ र धनबहादुर योङहाङले दक्षिण कोरिया पठाइदिने भन्दै २ लाख रुपैयाँ उठाएर सम्पर्कविहीन भएको प्रहरीको भनाइ छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले काठमाडौं र नवलपरासीका विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकामध्ये पाँच जनालाई वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ भने नौमाया आले मगरमाथि जिल्ला प्रहरी परिसर काठमाडौंमा अनुसन्धान भइरहेको छ।

“विदेशको सपना देखाउने दलालबाट सावधान !”

पछिल्लो समय आकर्षक तलब र “भिसा पक्का” भन्दै सामाजिक सञ्जालमार्फत युवालाई फसाउने घटना बढ्दै गएको प्रहरीले जनाएको छ। प्रहरीले वैदेशिक रोजगारीमा जानुअघि सरकारी अनुमति प्राप्त म्यानपावर कम्पनी र आधिकारिक प्रक्रियामार्फत मात्रै जान आग्रह गरेको छ।