प्रहरीको ठुलो अप्रेशन: एक महिनामै देशभरबाट ४१७ जना बिचौलिया पक्राउ
काठमाडौँ, १८ वैशाख । सरकारी कार्यालय र सार्वजनिक सेवा प्रवाह हुने स्थानहरूमा सेवाग्राहीलाई दु:ख हैरानी दिने बिचौलियाहरू विरुद्ध नेपाल प्रहरी आक्रामक रूपमा प्रस्तुत भएको छ। पछिल्लो एक महिनाको अवधिमा देशभरबाट ४ सय १७ जना बिचौलियाहरूलाई प्रहरीले पक्राउ गरेको छ।
कुन क्षेत्रबाट कति पक्राउ परे ?
प्रहरीका अनुसार पक्राउ पर्नेमा सबैभन्दा धेरै काठमाडौँ उपत्यकाबाट रहेका छन्। प्रदेशगत विवरण यस प्रकार छ:
-
काठमाडौँ उपत्यका: १२३ जना
-
बागमती प्रदेश: ७६ जना
-
मधेश प्रदेश: ५० जना
-
कोशी प्रदेश: ४५ जना
-
लुम्बिनी प्रदेश: ४४ जना
-
सुदूरपश्चिम प्रदेश: २८ जना
-
गण्डकी प्रदेश: २७ जना
-
कर्णाली प्रदेश: २४ जना
पक्राउ परेकामध्ये १ सय २१ जना विरुद्ध मुद्दा दर्ता गरी कानुनी कारबाही अगाडि बढाइएको छ भने बाँकी २ सय ९६ जनालाई आवश्यक छानबिनपछि छाडिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।
बिचौलिया रहित सेवामा प्रहरीको जोड
प्रहरीले नागरिकमैत्री, पारदर्शी र छिटो छरितो सेवा प्रवाहलाई उच्च प्राथमिकतामा राखेर यो अभियान चलाएको हो। सरकारी कार्यालयहरूमा काम छिटो गरिदिने प्रलोभन देखाएर सेवाग्राहीबाट रकम असुल्ने र अनावश्यक हैरानी दिने कार्यलाई निरुत्साहित गर्न सबै जिल्ला प्रहरी कार्यालयहरू सक्रिय भएका छन्।
“बिचौलिया मुक्त समाज र पारदर्शी सेवा प्रवाहका लागि नेपाल प्रहरी सदैव कटिबद्ध छ,” प्रहरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ। प्रहरीले कुनै पनि सेवा लिँदा बिचौलियाको सहारा नलिन र कोही कसैले प्रलोभन देखाएमा तुरुन्त प्रहरीलाई खबर गर्न नागरिकहरूलाई आग्रह गरेको छ।



प्रतिकृया दिनुहोस्