सुकुम्वासी व्यवस्थापनमा नेपाल प्रहरीको मानवीय सक्रियता: महानिरीक्षक आफैँ फिल्डमा

सुकुम्वासी व्यवस्थापनमा नेपाल प्रहरीको मानवीय सक्रियता: महानिरीक्षक आफैँ फिल्डमा

काठमाडौँ, १३ वैशाख । नेपाल सरकारले सुरु गरेको सुकुम्वासी तथा भूमिहीन व्यवस्थापन प्रक्रियालाई सफल बनाउन नेपाल प्रहरी मानवीय संवेदनशीलताका साथ मैदानमा उत्रिएको छ। अव्यवस्थित बसोबासलाई हटाएर वास्तविक भूमिहीनहरूको उज्ज्वल भविष्य, सुरक्षित आवास र सम्मानजनक जीवन सुनिश्चित गर्ने उद्देश्यका साथ प्रहरीले आफ्नो कार्य अगाडि बढाएको हो।

सरकारको यो महत्वपूर्ण पहल अन्तर्गत नेपाल प्रहरीले अन्य सरोकारवाला निकायहरूसँग समन्वय गर्दै काठमाडौँ उपत्यकाका थापाथली, गैरीगाउँ र मनोहरा खोला किनार लगायतका क्षेत्रमा रहेका अव्यवस्थित बस्तीको व्यवस्थापन गरिरहेको छ।

प्रहरी नेतृत्वबाटै स्थलगत अनुगमन र निर्देशन

व्यवस्थापन कार्यलाई थप प्रभावकारी र शान्तिपूर्ण बनाउन प्रहरी महानिरीक्षक दान बहादुर कार्की तथा काठमाडौँ उपत्यका प्रहरी कार्यालय रानीपोखरीका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक इश्वर कार्कीले स्थलगत अवलोकन गर्नुभएको छ। अनुगमनका क्रममा नेतृत्वले मानवीय पक्षलाई विशेष ध्यान दिँदै सुरक्षाकर्मीहरूलाई कुशलतापूर्वक जिम्मेवारी निभाउन निर्देशन दिनुभएको छ।

सम्भावित अवरोध र प्रतिवादलाई ध्यानमा राख्दै प्रहरीले उच्च सतर्कता अपनाउनुका साथै नागरिकको सुरक्षालाई प्राथमिकतामा राखेर सुरक्षित स्थानमा स्थानान्तरण गर्न सहयोग पुर्‍याइरहेको छ।

स्वार्थी समूहको चलखेलप्रति प्रहरी सचेत

सुकुम्वासीको नाममा अनुचित लाभ लिन खोज्ने र वास्तविक पीडितलाई अवसरबाट वञ्चित गर्ने ‘टाठा बाठा’ व्यक्तिहरूप्रति नेपाल प्रहरी निकै सचेत देखिएको छ। सुकुम्वासीका नाममा हक-अधिकारको दुरुपयोग गर्नेहरूलाई कानुनी दायरामा ल्याउन प्रहरी सक्रियताका साथ लागिपरेको छ।

सहकार्यका लागि प्रहरीको अपिल

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता प्रहरी नायव महानिरीक्षक अबि नारायण काफ्लेले भन्नुभयो, “वास्तविक पीडितको न्याय र सुरक्षित भविष्य सुनिश्चित गर्न हामी सदैव प्रतिबद्ध छौँ। राज्यले गर्न लागेको यो व्यवस्थापन कार्यमा वास्तविक सुकुम्वासीहरू एकजुट भई सहयोग गर्न र सही सूचना दिएर सुरक्षा निकायलाई सघाउन हामी हार्दिक अनुरोध गर्दछौँ।”

प्रहरीको यो सक्रियता र संवादमुखी शैलीले सुकुम्वासी व्यवस्थापन कार्य अब थप व्यवस्थित र न्यायोचित हुने विश्वास गरिएको छ।


फोटो फिचर: मनोहरा तथा थापाथली क्षेत्रमा सुकुम्वासी व्यवस्थापनको स्थलगत अवलोकन गर्दै प्रहरी महानिरीक्षक दान बहादुर कार्की र उच्च अधिकारीहरू।

(फोटो/समाचार स्रोत: नेपाल प्रहरी प्रधान कार्यालय, प्रहरी महानिरीक्षकको सचिवालय, जनसम्पर्क तथा मिडिया समन्वय शाखा (केन्द्रीय प्रहरी समाचार कक्ष)