जन्ती बोकेको बसबाट खसेर मृत्यु, अर्को दुर्घटनामा अज्ञात पुरुषको ज्यान गयो

जन्ती बोकेको बसबाट खसेर मृत्यु, अर्को दुर्घटनामा अज्ञात पुरुषको ज्यान गयो

काठमाडौं, देशका दुई फरक स्थानमा भएका सवारी दुर्घटनामा दुई जनाको ज्यान गएको छ। रोल्पाको रून्टिगढी गाउँपालिका–७ खर्चेस्थित सडकमा बागेबाट दाङतर्फ जाँदै गरेको जन्ती बोकेको बसको ढोकाबाट खस्दा २२ वर्षीय ओपीलाल घर्तीको बुधबार बिहान मृत्यु भएको हो। धावाङ निवासी घर्ती दुर्घटनामा गम्भीर घाइते भएका थिए र उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र होलेरी पुर्‍याइए पनि उपचारकै क्रममा उनको ज्यान गएको प्रहरीले जनाएको छ। घटनापछि बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ।

यस्तै, कपिलवस्तुको महाराजगंज नगरपालिका–६ भलवाडीस्थित सडकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा अन्दाजी ३५ वर्षीय एक पुरुषको मृत्यु भएको छ। युपी ५५ एवाई ०८३९ नम्बरको मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएका ती पुरुषको जिल्ला अस्पताल तौलिहवामा उपचारको क्रममा ज्यान गएको हो। मृतकको पहिचान खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ भने दुवै घटनाबारे थप अनुसन्धान भइरहेको छ।