काठमाडौं र कैलालीबाट जुवातास खेलिरहेको अवस्थामा २५ जना पक्राउ; ६ लाखभन्दा बढी नगद बरामद
काठमाडौं, प्रहरीले काठमाडौं र कैलालीका दुई छुट्टाछुट्टै स्थानबाट जुवातास खेलिरहेको अवस्थामा २५ जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट ६ लाख ४७ हजार ६ सय ४० रुपैयाँ नगद र जुवा खेल्न प्रयोग गरिने सामग्रीहरू बरामद गरिएको छ।
काठमाडौंको सिमलटारबाट १९ जना नियन्त्रणमा
काठमाडौं महानगरपालिका-६ सिमलटारस्थित ५२ वर्षीय मैते तामाङको घरमा जुवा खेलिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी परिसर काठमाडौं र प्रहरी वृत्त बौद्धबाट खटिएको टोलीले छापा मारेको थियो।
सो क्रममा घरधनी मैते तामाङसहित १९ जनालाई गए राति प्रहरीले पक्राउ गरेको हो। उनीहरूको साथबाट ६ लाख २७ हजार ५ सय रुपैयाँ नगद, ८ बुक तास र २८ थान कौडा बरामद भएको छ।
कैलालीमा ६ जना पक्राउ
त्यस्तै, कैलालीको धनगढी उपमहानगरपालिका-४ मा डेरा गरी बस्ने ३२ वर्षीया टेक कुमारी गाहामगरको कोठाबाट ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। पाल्पा घर भएकी गाहामगरको कोठामा जुवा खेलिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय कैलालीको टोलीले उनीहरूलाई २० हजार १ सय ४० रुपैयाँ र ३ बुक ताससहित शुक्रबार दिउँसो नियन्त्रणमा लिएको हो।
पक्राउ परेका सबैमाथि प्रहरीले थप आवश्यक अनुसन्धान गरिरहेको जानकारी दिएको छ।



प्रतिकृया दिनुहोस्