कांग्रेस विवाद आयोगको ढोकामा – निर्वाचन आयोगमा पुगे दुई पत्र: हिजो विशेष महाधिवेशन पक्षधरको, आज देउवा पक्षको

कांग्रेस विवाद आयोगको ढोकामा – निर्वाचन आयोगमा पुगे दुई पत्र: हिजो विशेष महाधिवेशन पक्षधरको, आज देउवा पक्षको

काठमाडौँ — नेपाली कांग्रेसभित्र चर्किएको विवाद अब निर्वाचन आयोगसम्म औपचारिक रूपमा पुगेको छ। एकै विषयमा दुई फरक धारबाट दुई फरक पत्र आयोगमा दर्ता भएपछि कांग्रेसको आन्तरिक संघर्ष निर्णायक मोडमा पुगेको छ।

विशेष महाधिवेशन पक्षधरले मंगलबार नै भृकुटीमण्डपमा विशेष महाधिवेशन जारी रहेको जानकारीसहितको पत्र निर्वाचन आयोगमा पठाएको तथ्य बुधबार सार्वजनिक भएको हो।
त्यसको भोलिपल्टै, सभापति शेरबहादुर देउवा पक्षले महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री फरमुल्लाह मन्सुरलाई कारबाही गरिएको पत्र आयोगमा बुझाएको छ।

आयोगमा दुवै पत्र दर्ता

निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराई ले दुवै पक्षबाट पत्र आएको पुष्टि गर्दै भने,

“विशेष महाधिवेशन भइरहेको भन्ने पत्र आयोगमा हिजै दर्ता भएको छ। आज कांग्रेस केन्द्रीय कार्यालयका तर्फबाट अर्को पत्र आएको छ। दुवै पत्र हेर्न बाँकी छ।”

महाधिवेशन चलिरहेकै बेला कारबाही

भृकुटीमण्डपमा नेपाली कांग्रेसको विशेष (दोस्रो) महाधिवेशन जारी रहँदा नयाँ नेतृत्व चयनको प्रक्रिया अगाडि बढिरहेको छ। यही क्रममा बुधबार केन्द्रीय कार्यसमितिले महामन्त्रीद्वय सहित तीन नेतालाई कारबाही गर्ने निर्णय गरेको हो।

अब फैसला कसको पक्षमा?

एकै पार्टीबाट आयोगमा पुगेका दुई परस्पर विरोधी पत्र ले
कुन नेतृत्व वैधानिक?
केन्द्रीय समिति मान्य कि विशेष महाधिवेशन?
रुख र चारतारे झण्डा कसले पाउने?
भन्ने प्रश्नलाई अझ गहिरो बनाएको छ।

अब कांग्रेसको विवाद निर्वाचन आयोगको अध्ययन र निर्णयमा निर्भर भएको छ। आयोगको फैसला कांग्रेसको भविष्य मात्र होइन, आगामी निर्वाचनको राजनीतिक समीकरण मा समेत निर्णायक बन्ने देखिन्छ।