एनआरएनएलाई सदस्यकेन्द्रित र जवाफदेही संस्था बनाउन एनसीसी पदाधिकारीहरूको सुझाव

एनआरएनएलाई सदस्यकेन्द्रित र जवाफदेही संस्था बनाउन एनसीसी पदाधिकारीहरूको सुझाव

काठमाडौं, १ नोभेम्बर २०२६ (ठाँटी खबर)। गैरआवासीय नेपाली संघ (एनआरएनए) लाई पद तथा निर्वाचनकेन्द्रित नभई सदस्यकेन्द्रित,सेवामुखी, पारदर्शी र जवाफदेही बनाउनुपर्नेमा राष्ट्रिय समन्वय परिषद् (एनसीसी) का पदाधिकारीहरूले जोड दिएका छन्। काठमाडौंस्थित संघको सचिवालयमा आयोजित अन्तर्राष्ट्रिय समन्वय परिषद् (आईसीसी) र विभिन्न देशका एनसीसी पदाधिकारीहरूबीचको अन्तरक्रिया तथा छलफल कार्यक्रममा यस्तो सुझाव दिइएको हो।

भौतिक तथा भर्चुअल दुवै माध्यमबाट आयोजित उक्त अन्तरक्रिया कार्यक्रममा संघको भावी कार्यदिशा, संस्थागत सुदृढीकरण, सदस्य सेवा,वैदेशिक रोजगारीमा रहेका नेपालीका समस्या तथा आईसीसी र एनसीसीबीचको समन्वयलगायतका विषयमा गहन छलफल भएको थियो। कार्यक्रमलाई संघका अध्यक्ष डा. हेमराज शर्माले भर्चुअल माध्यमबाट सम्बोधन गर्नुभएको थियो।

छलफलका क्रममा सहभागीहरूले सदस्यतालाई केवल चुनावमा मतदान गर्ने अधिकारमा सीमित नराखी सदस्यहरूलाई आपत्‌कालीन अवस्थामा राहत, शव स्वदेश फिर्ता तथा वास्तविक सहयोग पुर्‍याउने प्रभावकारी संयन्त्रको विकास गर्नुपर्ने धारणा राखे। साथै, अफ्रिकालगायत विभिन्न क्षेत्रमा रहेका एनसीसीलाई संघका मुख्य गतिविधि र निर्णय प्रक्रियामा जोड्दै आईसीसी र एनसीसीबीच नियमित संवाद र स्पष्ट जिम्मेवारी बाँडफाँट हुनुपर्नेमा जोड दिइयो।

वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरूले भोग्नुपरेका पारिश्रमिक, कार्यस्थल हिंसा, दुर्घटना र मृत्युजस्ता जटिल समस्या समाधानका लागि आईसीसीले परराष्ट्र मन्त्रालय, श्रम मन्त्रालय र नेपाली दूतावासहरूसँग सशक्त पहल गर्नुपर्ने सुझाव दिइयो। यसैगरी, एनसीसीहरूको क्षमता अभिवृद्धि, व्यवहारमुखी तालिम, अन्तर्राष्ट्रिय श्रम संगठन (आईएलओ) सँगको सहकार्य तथा विधान संशोधनमा दोस्रो पुस्ताका नेपाली,महिला, युवा र श्रमिकका अधिकारलाई प्राथमिकताका साथ समेट्नुपर्ने निष्कर्ष निकालियो।

आर्थिक पारदर्शिता र सामूहिक लगानीको विषयलाई पनि छलफलमा महत्त्वका साथ उठाइएको थियो। एनआरएनए नेपाल डेभलपमेन्ट फन्डमार्फत नेपाली पुँजी परिचालन गर्न विभिन्न देशमा लगानीसम्बन्धी रोड सोहरू सञ्चालन गर्नुपर्ने र संघले विगतदेखि गरेका उपलब्धिहरूको प्रभावकारी प्रचारप्रसार गरी सदस्यहरूको विश्वास जित्नुपर्नेमा सहभागीहरूले जोड दिए। छलफलले आगामी ग्लोबल हेल्थ, ग्लोबल नलेज तथा ग्लोबल वुमन कन्फरेन्सजस्ता अन्तर्राष्ट्रिय सम्मेलनहरूमा एनसीसीहरूको सक्रिय सहभागिता गराई संस्थालाई थप उत्तरदायी बनाउने प्रतिबद्धता व्यक्त गरेको छ। (तस्बिर: एनआरएनए)