नेपाल–भारत लगानी सहकार्य सुदृढ गर्ने अवसरबारे एनआईसीसीआई र लगानी बोर्ड नेपालबीच छलफल

नेपाल–भारत लगानी सहकार्य सुदृढ गर्ने अवसरबारे एनआईसीसीआई र लगानी बोर्ड नेपालबीच छलफल

काठमाडौँ। नेपालमा भारतीय लगानी प्रवर्धन गर्न र द्विपक्षीय आर्थिक सम्बन्धलाई थप सुदृढ बनाउने उद्देश्यले नेपाल–भारत उद्योग वाणिज्य संघ (एनआईसीसीआई) र लगानी बोर्ड नेपालबीच नयाँ बानेश्वरस्थित बोर्डको कार्यालयमा उच्चस्तरीय छलफल सम्पन्न भएको छ।

उक्त बैठकमा नेपालका प्रधानमन्त्रीको आगामी भारत भ्रमणका अवसरमा ‘नेपाल–भारत प्रमुख कार्यकारी अधिकृत (सीईओ) गोलमेच बैठक’आयोजना गर्ने विषयमा मुख्य रूपमा परामर्श भएको थियो। छलफलमा सार्वजनिक र निजी क्षेत्रबीचको सहकार्य बलियो बनाउने, नेपालमा सफल भारतीय लगानीका उदाहरणहरू सार्वजनिक गर्ने र व्यवसाय-देखि-व्यवसाय (B2B) तहमा नयाँ लगानी आकर्षित गर्ने विषयलाई प्राथमिकता दिइएको छ।

बैठकमा एनआईसीसीआईका तर्फबाट अध्यक्ष कुनाल कयाल, निवर्तमान अध्यक्ष सुनील के.सी., उपाध्यक्ष गौरव टयाल, स्थायी आमन्त्रित सदस्य सैवाल घोष, निर्देशक मार्शल राठौर र कार्यक्रम सहायक श्रेयसी राणाको उपस्थिति थियो। त्यसैगरी, लगानी बोर्डका तर्फबाट प्रमुख कार्यकारी अधिकृत (सीईओ) याङ्की उक्याब, सहसचिव भूपेन्द्र थापा र वरिष्ठ डिभिजनल इन्जिनियर दीपक मुडभरी लगायतका प्रतिनिधिहरू सहभागी हुनुहुन्थ्यो।

छलफलका क्रममा एनआईसीसीआईका अध्यक्ष कुनाल कयालले भारतीय व्यावसायिक संस्थाहरूसँग संघको सञ्जाल निकै बलियो रहेको उल्लेख गर्दै नेपालको लगानी सम्भावना र यहाँ स्थापित भारतीय उद्योगहरूको योगदानलाई थप प्रभावकारी ढङ्गले प्रचारप्रसार गर्नुपर्ने धारणा राख्नुभयो। संघका उपाध्यक्ष गौरव टयालले विशिष्टीकृत स्वास्थ्य सेवा, उच्च शिक्षा, यातायात, ढुवानी तथा आपूर्ति व्यवस्थापन (लजिस्टिक्स) र पूर्वाधारका क्षेत्रमा लगानीका प्रचुर सम्भावना रहेको औँल्याउनुभयो।

लगानी बोर्डकी प्रमुख कार्यकारी अधिकृत याङ्की उक्याबले संघको सक्रिय सहभागिताको स्वागत गर्दै लगानी सहजीकरण र प्रवर्धनका लागि व्यवस्थित दृष्टिकोण आवश्यक रहेको बताउनुभयो। उहाँले लगानीका अवसरहरूलाई साकार रूप दिन निजी क्षेत्रको रचनात्मक सहभागिता र ठोस पूर्वतयारीसहितका प्रस्तावहरूको महत्त्वमाथि जोड दिनुभयो।

अन्तमा, प्रस्तावित ‘सीईओ राउन्डटेबल’ लाई उपलब्धिमूलक बनाउन स्पष्ट कार्यसूची तय गर्ने, प्राथमिकताका क्षेत्रहरू पहिचान गर्ने र उपयुक्त कम्पनीहरूको छनोट गर्ने विषयमा दुवै पक्ष सहमत भएका छन्। दुवै संस्थाले ज्ञान तथा अनुभव आदानप्रदान गर्दै नेपाल–भारतबीचको ऐतिहासिक आर्थिक साझेदारीलाई थप लगानी सहकार्यमा रूपान्तरण गर्न निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेका छन्।