एनएमबी बैंक लिमिटेडको नेतृत्वमा तिला–१ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबी बैंक लिमिटेडको नेतृत्वमा तिला–१ जलविद्युत् आयोजनाको वित्तीय व्यवस्थापन

एनएमबी बैंक लिमिटेडले ४४० मेगावाट क्षमताको कालीकोट जिल्लामा अवस्थित तिला–१ जलविद्युत् आयोजनाको अग्रणी लगानीकर्ता भई वित्तीय व्यवस्थापन गरेको छ।

कालीकोट जिल्लाको तिला खोलामा एस.सी. पावर कम्पनी प्रा.लि.द्वारा निर्माण गर्न लागिएको यो आयोजनाको कुल अनुमानित लागत रु. ५९.४ अर्ब रहेको छ। कुल लागतमध्ये बैंकहरूको ऋण लगानी रु. ४४.५५ अर्ब रहनेछ। यस वित्तीय व्यवस्थापनमा एनएमबी बैंक लिमिटेड अग्रणी बैंक (Lead Bank) का रूपमा रहेको छ भने ग्लोबल आईएमई बैंक लिमिटेड, हिमालयन बैंक लिमिटेड तथा प्रभु बैंक लिमिटेड सह–अग्रणी बैंकहरू (Co-Lead Banks) का रूपमा रहेका छन्। साथै, अन्य विभिन्न बैंक तथा वित्तीय संस्थाहरू सहभागी (Members Banks/Financial Institutions) का रूपमा रहेका छन्।

एस.सी. पावर कम्पनी प्रा.लि.को मुख्य नेतृत्व श्री सुजन कर्माचार्य तथा उहाँको समूहले गरेको छ। तिला–१ जलविद्युत् आयोजनाको उत्पादन अनुमतिपत्रअनुसार कुल क्षमता ४४० मेगावाट रहेको छ र पीपीएअनुसार आयोजनाले व्यावसायिक उत्पादन सुरु गर्नुपर्ने मिति वि.सं. २०८७ पुस १५ (३१ डिसेम्बर २०३०) रहेको छ।

एनएमबी बैंक लिमिटेडका तर्फबाट सहायक महाप्रबन्धक श्री दिनेश दुलाल तथा कम्पनीका तर्फबाट अध्यक्ष श्री सुजन कर्माचार्यले सम्झौतामा हस्ताक्षर गर्नुभएको हो। निजी क्षेत्रको लगानी र नेतृत्वमा अघि बढाइएको यो जलविद्युत् आयोजना जडान क्षमताका हिसाबले अहिलेसम्मकै ठूलो आयोजना हो।

आयोजना निर्माणपश्चात् पहिलो वर्ष करिब रु. ११.४ अर्ब आम्दानी हुने अनुमान गरिएको छ। एनएमबी बैंक लिमिटेडले नेपाल राष्ट्र बैंकद्वारा जारी वातावरणीय तथा सामाजिक जोखिम व्यवस्थापन (ESRM) सम्बन्धी निर्देशिका अनुसार वातावरणीय तथा सामाजिक नीति तथा व्यवस्थापन प्रणाली कार्यान्वयन गर्दै लगानीका वातावरणीय तथा सामाजिक पक्षहरूको मूल्याङ्कनका आधारमा जिम्मेवार तथा दिगो लगानीलाई प्राथमिकता दिँदै आएको छ।

साथै, अन्तर्राष्ट्रिय असल अभ्यासहरूलाई अवलम्बन गर्ने क्रममा यस आयोजनाको हकमा Hydropower Sustainability Alliance (HSA) द्वारा विकसित Hydroselect Tool प्रारम्भिक वातावरणीय, सामाजिक तथा सुशासन परीक्षण उपकरण प्रयोग गरी आयोजनाका वातावरणीय तथा सामाजिक पक्षहरूको अध्ययन तथा मूल्याङ्कन गरिएको थियो। एनएमबी बैंकले हालसम्म ५० भन्दा बढी जलविद्युत् आयोजनाहरूमा लगानी गरिसकेको छ।

एनएमबी बैंक लिमिटेडले हाल देशभर १९७ शाखा, १७६ एटीएम तथा ९ एक्सटेन्सन काउन्टरमार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ।