वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पाँच जना पक्राउ, लाखौं रुपैयाँ असुलेको आरोप

वैदेशिक रोजगारीको नाममा ठगी गर्ने पाँच जना पक्राउ, लाखौं रुपैयाँ असुलेको आरोप

काठमाडौं, वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभन देखाई विभिन्न देश पठाइदिने भन्दै सर्वसाधारणबाट लाखौं रुपैयाँ ठगी गरेको आरोपमा पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुका अनुसार पक्राउ पर्नेहरूमा रौतहटका ३० वर्षीय मुन्ना चौधरी, मोरङकी ४७ वर्षीया भूमिका देवान, भोजपुरकी ४३ वर्षीया बिमला थापा, दैलेखका ४१ वर्षीय केशव बहादुर शाही र मोरङकी ३५ वर्षीया बिनु श्रेष्ठ रहेका छन्।

प्रहरीका अनुसार मुन्नाले अल्बानिया पठाइदिने भन्दै एक जनाबाट १ लाख ६६ हजार रुपैयाँ, भूमिकाले अल्बानिया पठाइदिने भन्दै १ लाख ५० हजार रुपैयाँ, बिमलाले मलेसिया पठाइदिने भन्दै ४ लाख ४८ हजार रुपैयाँ, केशव बहादुर शाहीले जर्जियालगायत विभिन्न देश पठाइदिने भन्दै ८ जना पीडितबाट ८८ लाख ५० हजार रुपैयाँ तथा बिनुले हङकङ पठाइदिने भन्दै ३ लाख ५० हजार रुपैयाँ असुलेर सम्पर्कविहीन भएको आरोप छ।

पीडितहरूको उजुरीका आधारमा प्रहरीले विभिन्न स्थानबाट उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेका पाँचै जनालाई आवश्यक अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल, काठमाडौं पठाइएको प्रहरीले जनाएको छ।