वीर अस्पतालको सेवा–सुविधा सुधार गर्न पूर्व डीआईजी रमेश प्रसाद खरेलको आग्रह
काठमाडौं। पूर्व नेपाल प्रहरी डीआईजी तथा समाजसेवी रमेश प्रसाद खरेलले वीर अस्पतालको आकस्मिक (इमर्जेन्सी) सेवाको अवस्था सुधार गर्न सरकारको गम्भीर ध्यानाकर्षण गराउनुभएको छ।
सामाजिक सञ्जाल फेसबुक रिल्समार्फत आफ्नो अनुभव सार्वजनिक गर्दै उहाँले अस्पताल पुग्दा देखिएको भीडभाड, सरसफाइको अवस्था तथा बिरामी व्यवस्थापनबारे चिन्ता व्यक्त गर्नुभएको हो।
उहाँले आफ्नो भनाइको सुरुआतमै सबै नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूलाई अस्पताल, प्रहरी कार्यालय वा अदालत धाउनुपर्ने अवस्था कसैको जीवनमा नआओस् भन्ने शुभकामना व्यक्त गर्दै आफू गाउँबाट उपचारका लागि ल्याइएका बिरामी मोहन खरेलको स्वास्थ्य अवस्था बुझ्न वीर अस्पताल पुगेको बताउनुभएको छ।
वीर अस्पतालको आकस्मिक कक्षमा अत्यधिक बिरामीको चाप रहेको, कतिपय बेडमा दुईदेखि तीन जनासम्म बिरामी राखेर उपचार भइरहेको तथा स्वास्थ्यकर्मीहरू अत्यन्त व्यस्त भएर सेवा दिइरहेको दृश्य आफूले देखेको उहाँले उल्लेख गर्नुभएको छ। स्वास्थ्यकर्मीहरूको बाध्यता बुझ्दै उहाँले सेवा प्रवाहको क्षमता र पूर्वाधार अझ सुदृढ बनाउन सकिने धारणा व्यक्त गर्नुभएको छ।
उहाँले भ्रष्टाचारविरुद्ध शून्य सहनशीलताको नारा लिएर आएको वर्तमान सरकारले विशेषगरी स्वास्थ्य क्षेत्रलाई उच्च प्राथमिकतामा राखी वीर अस्पताल मात्र नभई देशभरका ७७ जिल्लाका अस्पतालहरूको सेवा, सरसफाइ, पूर्वाधार र व्यवस्थापनमा प्रभावकारी सुधार गर्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ।
स्वास्थ्य नागरिकको नैसर्गिक अधिकार भएकाले अस्पताल पुगेपछि बिरामीले सहज, सुरक्षित र गुणस्तरीय सेवा पाउने वातावरण निर्माण गर्न सम्बन्धित निकायले केवल निर्देशन मात्र नभई व्यवहारमै सुधार देखिने गरी काम गर्नुपर्ने उहाँको भनाइ छ।
स्वास्थ्य, शिक्षा तथा न्याय प्रणालीमा हुने अनियमितता र भ्रष्टाचार अन्त्य गरी शून्य सहनशीलताको नीति प्रभावकारी रूपमा कार्यान्वयन गर्न उहाँले सरकारसँग आग्रह गर्नुभएको छ।



प्रतिकृया दिनुहोस्