प्रहरी चालक अब झन् दक्ष : ३० प्रहरीलाई उन्नत यान्त्रिक तालिम

प्रहरी चालक अब झन् दक्ष : ३० प्रहरीलाई उन्नत यान्त्रिक तालिम

काठमाडौं, नेपाल प्रहरीको सवारी व्यवस्थापन र सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने उद्देश्यले ३० जना प्रहरी कर्मचारीले सवारी चालक उन्नत (यान्त्रिक ज्ञान) तालिम सफलतापूर्वक पूरा गरेका छन्।

नेपाल प्रहरी प्रधान कार्यालय सवारी महाशाखामा सञ्चालित १७औं समूहको उक्त तालिममा सहभागी प्रहरीहरूले सवारी साधनको सञ्चालनसँगै यान्त्रिक समस्या पहिचान तथा समाधानसम्बन्धी विशेष सीप हासिल गरेका छन्। ३० कार्यदिनसम्म सञ्चालन भएको तालिमले प्रहरी जनशक्तिको व्यावसायिक दक्षता अभिवृद्धि गर्न महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास गरिएको छ।

तालिम समापन कार्यक्रममा प्रहरी वरिष्ठ उपरीक्षक बिनोद सिलवाल ले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र प्रदान गर्दै तालिमबाट प्राप्त ज्ञान र सीपलाई सेवामा प्रभावकारी रूपमा प्रयोग गर्न आग्रह गर्नुभयो। उहाँले दक्ष र प्रविधिमैत्री जनशक्ति निर्माणले प्रहरी संगठनलाई अझ सक्षम बनाउने बताउनुभयो।

तालिम संयोजक अशोक केसी का अनुसार वैशाख २८ गतेदेखि सञ्चालन भएको तालिममा प्रहरी सहायक निरीक्षक १ जना, प्रहरी सहायक हवल्दार १३ जना र प्रहरी जवान १६ जना गरी कुल ३० जनाको सहभागिता रहेको थियो।