पर्वतमा हत्यापछि सुन लुट्ने अभियुक्त पक्राउ, लुटिएको गहना खरिद गर्ने सुनचाँदी व्यवसायी पनि नियन्त्रणमा

पर्वतमा हत्यापछि सुन लुट्ने अभियुक्त पक्राउ, लुटिएको गहना खरिद गर्ने सुनचाँदी व्यवसायी पनि नियन्त्रणमा

पर्वत, २७ जेठ — पर्वतमा एक महिलाको हत्या गरी सुनका गरगहना लुटिएको घटनामा संलग्न मुख्य अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ। घटनामा लुटिएको सुन खरिद गरेको आरोपमा एक सुनचाँदी व्यवसायीसमेत नियन्त्रणमा परेका छन्।

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार फलेवास नगरपालिका–५ का २८ वर्षीय कुशल पुरीलाई विशेष अनुसन्धानपछि मोदी गाउँपालिका–५ पातीचौरस्थित एक होटलबाट पक्राउ गरिएको हो।

प्रहरीका अनुसार जेठ ८ गते आफ्नै कोठामा मृत फेला परेकी **५२ वर्षीया सन्तु नेपाली (सोमकुमारी नेपाली)**को हत्या कुशल पुरीले गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। उनले कोदालो प्रहार गरी हत्या गरेपछि मृतकले लगाएका सुनका गहना लुटेको प्रहरीको दाबी छ।

अनुसन्धानका क्रममा प्रहरीले अभियुक्तको साथबाट मृतकले लगाउने सुनका ८ वटा मुन्द्रा बरामद गरेको जनाएको छ।

घटनाको थप अनुसन्धान गर्दा लुटिएको सुन कुश्मा नगरपालिका–५ स्थित स्मृति गहना उद्योगमा बिक्री गरिएको खुलेपछि प्रहरीले उद्योग सञ्चालक रमेश कुमार श्रेष्ठलाई पनि पक्राउ गरेको छ। उद्योगमा गरिएको खानतलासीका क्रममा मृतकको सुनको सिक्री र अन्य सुनका गहनासमेत बरामद भएको प्रहरीले जनाएको छ।

प्रहरीले दुवै जनाविरुद्ध अदालतबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान अगाडि बढाइरहेको छ।

हत्या र डाँका चोरी जस्ता गम्भीर अपराधमा संलग्नमाथि कडा कानुनी कारबाही हुने प्रहरीले जनाएको छ।