अदालतको लेटरप्याड र न्यायाधीशको दस्तखतसमेत कीर्ते गर्ने युवक पक्राउ !

अदालतको लेटरप्याड र न्यायाधीशको दस्तखतसमेत कीर्ते गर्ने युवक पक्राउ !

काठमाडौं, २७ जेठ — अदालतको आधिकारिक लेटरप्याड, छाप तथा न्यायाधीशको दस्तखतसमेत कीर्ते गरेर करोडौं रुपैयाँ प्राप्त हुने झुट्टा कागजात तयार पार्ने आरोपमा एक युवक पक्राउ परेका छन्।

केन्द्रीय अनुसन्धान ब्यूरो (CIB) ले गोरखा आरूघाट गाउँपालिका–७ घर भई हाल टोखा नगरपालिका–३ बस्ने २६ वर्षीय बिबस अधिकारीलाई काठमाडौंको सतुङ्गलबाट पक्राउ गरेको हो।

प्रहरीका अनुसार उनले जिल्ला अदालत काठमाडौंको लेटरप्याड नक्कली रूपमा तयार गरी न्यायाधीश, श्रेस्तेदार र शाखा अधिकृतको दस्तखत तथा अदालतको छापसमेत कीर्ते गरेका थिए। उनले तयार पारेको झुट्टा पत्रमा मुद्दाको अन्तिम फैसला भएपछि आफ्नो बैंक खातामा २ करोड १३ लाख रुपैयाँ जम्मा हुने उल्लेख गरिएको थियो।

यति मात्र होइन, अदालतको नाममा अर्को नक्कली पत्र बनाएर १ लाख ६ हजार ५ सय रुपैयाँ सेवा शुल्क बुझाउन आदेश दिइएको भन्दै सर्वसाधारणलाई भ्रममा पार्ने प्रयाससमेत गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।

घटनाले सरकारी कागजातको दुरुपयोग र साइबर तथा वित्तीय ठगीका नयाँ तरिकाप्रति गम्भीर प्रश्न उठाएको छ। प्रहरीले जिल्ला अदालत काठमाडौंबाट म्याद थप अनुमति लिएर थप अनुसन्धान अगाडि बढाइरहेको जनाएको छ।