वैदेशिक रोजगारीको नाममा ठगी : ४ जना पक्राउ, विदेश पठाउने सपना देखाएर लाखौं असुले

वैदेशिक रोजगारीको नाममा ठगी : ४ जना पक्राउ, विदेश पठाउने सपना देखाएर लाखौं असुले

काठमाडौं, २७ जेठ — आकर्षक तलब र सुनौलो भविष्यको प्रलोभन देखाउँदै वैदेशिक रोजगारीमा विभिन्न युरोपेली मुलुक पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गर्ने आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।

काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले ठगीमा संलग्न रहेको आरोपमा सुमन शाही, वेदबहादुर सुनुवार, अनिल अग्रवाल र विवेक अधिकारीलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार पक्राउ परेकामध्ये एक जनाले क्रोएशिया पठाइदिने भन्दै तीन जनाबाट १९ लाख रुपैयाँ, अर्काले स्विजरल्याण्ड पठाइदिने नाममा १ लाख ४० हजार रुपैयाँ, अर्कोले अष्ट्रिया पठाउने भन्दै २ लाख रुपैयाँ तथा अर्काले फ्रान्स पठाइदिने आश्वासन दिएर ८ लाख रुपैयाँउठाएका थिए। रकम लिएपछि उनीहरू सम्पर्कविहीन बनेको भन्दै पीडितहरूले उजुरी दिएका थिए।

उजुरीपछि प्रहरीले विभिन्न स्थानमा खोजतलास गरी उनीहरूलाई पक्राउ गरेको हो। पक्राउ परेकाहरूलाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि वैदेशिक रोजगार विभाग, ताहाचल पठाइएको छ।

विदेश जाने सपना देखिरहेका युवाहरूलाई प्रलोभनमा पारेर ठगी गर्ने गिरोहविरुद्ध प्रहरीले निगरानी र कारबाहीलाई थप कडा बनाएको जनाएको छ। वैदेशिक रोजगारीमा जाने क्रममा आधिकारिक प्रक्रिया र अनुमति प्राप्त म्यानपावर कम्पनीमार्फत मात्रै अघि बढ्न सरोकारवालाहरूले आग्रह गरेका छन्।