काठमाडौंको ट्राफिक व्यवस्थापनमा नयाँ युगको तयारी, Integrated Traffic Management System सम्बन्धी उच्चस्तरीय कार्यशाला सम्पन्न
काठमाडौं, काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री, स्मार्ट र प्रभावकारी बनाउने उद्देश्यसहित आयोजित Integrated Traffic Management System सम्बन्धी एकदिवसीय उच्चस्तरीय कार्यशाला गोष्ठी सफलतापूर्वक सम्पन्न भएको छ।
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय रामशाहपथमा आयोजित कार्यक्रममा प्रहरी महानिरीक्षक दान बहादुर कार्कीको प्रमुख आतिथ्यता रहेको थियो। कार्यक्रममा ट्राफिक व्यवस्थापन र सडक सुरक्षासम्बन्धी अध्ययन तथा अनुसन्धान समेटिएको Traffic Police Mirror-2026को समेत लोकार्पण गरिएको थियो।
समारोहलाई सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले बढ्दो शहरीकरण, सवारी साधनको चाप र सडक सुरक्षाका चुनौतीलाई सम्बोधन गर्न प्रविधिमा आधारित आधुनिक ट्राफिक व्यवस्थापन प्रणाली अपरिहार्य भएको बताउनुभयो। उहाँले सडक सुरक्षा कुनै एक निकायको मात्र जिम्मेवारी नभई सबै सरोकारवाला निकायको साझा दायित्व भएको उल्लेख गर्दै उच्चस्तरीय समन्वय र प्रतिबद्धताको आवश्यकता औंल्याउनुभयो।
कार्यशालामा Smart Intelligent Traffic System, Face-less Traffic Management, E-Challan, ANPR, CCTV विस्तार, Ride-sharing नियमन, Bluebook डिजिटल एकीकरण, वैज्ञानिक लाइसेन्स प्रणाली, पुराना सवारी साधनको स्क्र्याप नीति लगायतका विषयमा विस्तृत छलफल भएको थियो।
साथै, काठमाडौं उपत्यकामा बढ्दो ट्राफिक जाम व्यवस्थापन, सडक दुर्घटना न्यूनीकरण, मृत्यु दर घटाउने रणनीति, डेटा आधारित निर्णय प्रणाली विकास तथा आपतकालीन व्यवस्थापन प्रणाली सुदृढीकरणका विषयमा विज्ञहरूबीच गहन बहस र प्रस्तुतीकरण भएको थियो।
कार्यक्रममा विभिन्न सरकारी निकाय, स्थानीय तह, सडक सुरक्षा क्षेत्रका विज्ञ, यातायात व्यवस्थापनसँग सम्बन्धित संस्था तथा निजी क्षेत्रका प्रतिनिधिहरूको उल्लेखनीय सहभागिता रहेको थियो।
विशेषज्ञहरूका अनुसार यस्तो एकीकृत ट्राफिक व्यवस्थापन प्रणाली लागू हुन सके काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापन थप व्यवस्थित, सुरक्षित र प्रविधिमैत्री बन्नेछ। यसले यात्रुलाई सहज आवागमन, दुर्घटना न्यूनीकरण तथा स्मार्ट सिटी निर्माणको लक्ष्य हासिल गर्न महत्वपूर्ण योगदान पुर्याउने अपेक्षा गरिएको छ।
नेपाल प्रहरीले अघि सारेको यो पहललाई भविष्यको स्मार्ट ट्राफिक प्रणालीतर्फको महत्वपूर्ण कदम का रूपमा हेरिएको छ।
स्रोत/ तस्बिर: नेपाल प्रहरी



प्रतिकृया दिनुहोस्