काठमाडौंमा हात्तीको दाह्रा तस्करीको पर्दाफास, पाँच जना पक्राउ
काठमाडौं, काठमाडौंको मनमैजु क्षेत्रमा प्रहरीले ठूलो वन्यजन्तु तस्करीको जालो उजागर गर्दै हात्तीको दाह्रा सहित पाँच जनालाई पक्राउ गरेको छ। अवैध रूपमा हात्तीको दाह्रा ओसारपसार, बिक्री वितरण तथा भण्डारण भइरहेको सूचनापछि गरिएको विशेष अपरेशनमा यो सफलता प्राप्त भएको हो।
पक्राउ पर्नेहरूमा तारकेश्वर–९ मनमैजुका राजिव महर्जन (२५), गोरखा घर भएका टेक प्रसाद गुरुङ (२६), काठमाडौं बसन्तपुरका आयुष महर्जन (२७), बैतडी घर भई टोखा–२ सपनतीर्थ बस्ने पुरन बोहरा (२४) तथा गोरखा घर भई मनमैजु बस्ने सन्त बहादुर भुजेल (२०) रहेका छन्।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको टोलीले राजिव महर्जनको घर नजिकैको खाली जग्गामा गाडेर राखिएको अवस्थामा दुई थान हात्तीको दाह्रा बरामद गरेको थियो। त्यसक्रममा राजिवको घरबाट नियन्त्रित लागूऔषध ट्रामाडोलका १५० ट्याब्लेट समेत फेला परेका थिए।
प्रारम्भिक अनुसन्धानपछि पक्राउ परेकाहरूको संलग्नता थप खुल्दै जाँदा अन्य दुई टुक्रा हात्तीको दाह्रा पनि बरामद गरिएको प्रहरीले जनाएको छ। अनुसन्धानको दायरालाई विस्तार गर्दै प्रहरीले थप दुई जनालाई पक्राउ गरी वन्यजन्तु तस्करीसँग सम्बन्धित सञ्जालमाथि अनुसन्धान अघि बढाएको छ।
प्रहरीका अनुसार राजिव, आयुष र टेक प्रसादमाथि लागूऔषध नियन्त्रण ऐन, २०३३ तथा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन, २०२९अन्तर्गत मुद्दा चलाइनेछ। पुरन बोहरा र सन्त बहादुर भुजेलमाथि भने राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण ऐन अन्तर्गत अनुसन्धान भइरहेको छ।
वन्यजन्तु संरक्षणका लागि नेपालले अन्तर्राष्ट्रिय स्तरमा प्रतिबद्धता जनाइरहेका बेला हात्तीको दाह्राजस्ता दुर्लभ वन्यजन्तुजन्य वस्तुको अवैध कारोबारविरुद्ध प्रहरीले गरेको यो कारबाहीलाई महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ। (स्रोत/तस्बिर: नेपाल प्रहरी)



प्रतिकृया दिनुहोस्