इमानदारी, निष्ठा र नागरिकमैत्री सेवामा केन्द्रित हुन प्रहरी महानिरीक्षक कार्कीको निर्देशन
काठमाडौं, नेपाल प्रहरीका प्रहरी महानिरीक्षक दान बहादुर कार्की ले प्रहरी संगठनलाई अझ प्रभावकारी, पारदर्शी र नागरिकमैत्री बनाउन नवीन सोच, प्रविधिको प्रयोग र इमानदार कार्यसम्पादनलाई प्राथमिकतामा राख्न निर्देशन दिनुभएको छ।
हालै सरुवा भई विभिन्न जिम्मेवारीमा जान लागेका प्रहरी वरिष्ठ उपरीक्षकहरूलाई नेपाल प्रहरी प्रधान कार्यालयमा सम्बोधन गर्दै प्रहरी महानिरीक्षक कार्कीले प्राप्त जिम्मेवारीलाई पूर्ण व्यावसायिकता, निष्ठा र जनसेवाको भावनासहित निर्वाह गर्न आग्रह गर्नुभयो।
उहाँले संगठनको सुदृढीकरण, सुशासन र जनविश्वास अभिवृद्धिलाई प्राथमिकतामा राख्दै शून्य सहनशीलताको नीतिअनुसार काम गर्नुपर्नेमा जोड दिनुभयो। प्रविधिमैत्री, पारदर्शी र परिणाममुखी सेवा प्रवाहमार्फत नागरिकको अपेक्षा पूरा गर्न प्रहरी संगठन प्रतिबद्ध रहेको उहाँको भनाइ थियो।
प्रहरी महानिरीक्षक कार्कीले संगठनको नीति तथा निर्देशनलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै शान्ति सुरक्षा, अपराध नियन्त्रण, अनुसन्धान तथा विपद् व्यवस्थापनका क्षेत्रमा थप सक्रिय र समन्वयकारी भूमिका निर्वाह गर्न निर्देशन दिनुभयो। साथै प्रहरी कर्मचारीहरूको क्षमता विकास, समस्या समाधान र प्रभावकारी नेतृत्वमार्फत संगठनलाई अझ सक्षम बनाउने दिशामा काम गर्नुपर्नेमा उहाँले जोड दिनुभयो।
उहाँले विगतका अनुभव र चुनौतीहरूबाट पाठ सिक्दै नयाँ योजना र रणनीतिका साथ कार्यक्षेत्रमा उत्कृष्ट नतिजा दिन प्रहरी अधिकृतहरूलाई प्रेरित गर्नुभयो। नागरिकको विश्वास जित्दै सेवा प्रवाहलाई थप प्रभावकारी बनाउनु नै प्रहरीको प्रमुख दायित्व भएको उहाँले उल्लेख गर्नुभयो।
कार्यक्रममा नेपाल प्रहरीका वरिष्ठ नेतृत्व तहका अधिकारीहरूले पनि सरुवा भई नयाँ जिम्मेवारीमा जान लागेका प्रहरी अधिकृतहरूलाई समसामयिक सुरक्षा चुनौती, नेतृत्व विकास र संगठनको भावी कार्यदिशाबारे मार्गदर्शन दिएका थिए।
नेपाल प्रहरी नेतृत्वले अघि सारेको सुशासन, पारदर्शिता, प्रविधिमैत्री सेवा र नागरिक केन्द्रित कार्यशैलीले संगठनलाई थप सक्षम, विश्वसनीय र जनउत्तरदायी बनाउने अपेक्षा गरिएको छ। (तस्बिर: नेपाल प्रहरी)



प्रतिकृया दिनुहोस्