एमालेको सन्देश जनतासम्म पुर्याउन ‘फुल एक्शन’ मा पार्टी
११औँ महाधिवेशनपछि सबै कमिटीलाई कडा निर्देशन, आन्दोलनकारी ढङ्गले अघि बढ्न आह्वान
काठमाडौं,
नेकपा एमालेले पार्टीको ११औँ राष्ट्रिय महाधिवेशनबाट पारित नीति, निर्णय र सन्देश जनस्तरसम्म पुर्याउन देशभरका पार्टी कमिटीलाई निर्देशन दिएको छ। केन्द्रीय सचिवालय बैठकको निर्णयअनुसार अन्तरपार्टी निर्देशन जारी गर्दै एमालेले अब सिङ्गो पार्टी जनताका बीचमा सक्रिय रूपमा उत्रिनुपर्ने स्पष्ट पारेको हो।
मंसिर २७ देखि पुस ३ गतेसम्म सम्पन्न महाधिवेशनले प्रतिगमनविरुद्ध व्यापक जनमत निर्माण गर्ने र भदौ २३ र २४ गतेका घटनाबाट उत्पन्न राष्ट्रिय तथा पार्टी संकटको विधिसम्मत समाधान खोज्ने उद्देश्य सफलतापूर्वक पूरा गरेको एमालेको निष्कर्ष छ। पार्टीले महाधिवेशनलाई “पूर्ण रूपमा सफल” घोषणा गरेको छ।
विवाद सकियो, एमाले एकताबद्ध
महाधिवेशनका क्रममा प्रतिनिधि छनोटदेखि नेतृत्व निर्वाचनसम्म देखिएका बहस र विवाद अब सकिएको एमालेले जनाएको छ।
पार्टी निर्देशनमा भनिएको छ–
“निर्वाचनका बेला देखिएको समूहबन्दी त्यहीँ अन्त्य भएको छ। आज एमाले वैचारिक, राजनीतिक र संगठनात्मक रूपमा पुनः एकताबद्ध भएको छ।”
केही कमजोरीहरू रहे पनि उपलब्धिका अगाडि ती गौण भएको भन्दै अब सबै नेता–कार्यकर्ता महाधिवेशनको सन्देश बोकेर जनतामाझ जानुपर्नेमा पार्टीले जोड दिएको छ।
५ वर्षका लागि नीति र नेतृत्व टुंगियो
एमालेले ११औँ महाधिवेशनबाट अत्यन्त लोकतान्त्रिक तरिकाले नेतृत्व चयन भएको दाबी गरेको छ। आगामी पाँच वर्षका लागि नीति र नेतृत्वको प्रश्न विधिसम्मत रूपमा टुंगिएकाले अब पार्टी ‘समृद्ध नेपाल, सुखी नेपाली’ को राष्ट्रिय लक्ष्य हासिल गर्न निर्णायक शक्तिका रूपमा अघि बढ्ने जनाएको छ।
भदौ २३–२४ का घटना ‘गम्भीर र दुःखद’
भदौ २३ र २४ गतेका घटनालाई एमालेले राष्ट्रकै जीवनसँग जोडिएको गम्भीर र दुःखद घटना भनेको छ।
पार्टीका अनुसार:
-
असंवैधानिक रूपमा प्रतिनिधिसभा विघटन गरियो
-
संविधानमाथि गम्भीर चोट पुग्यो
-
लोकतन्त्रका आधारस्तम्भमाथि आक्रमण भयो
-
देशमा भय र त्रासको वातावरण सिर्जना भयो
यस्तो अवस्थामा मुलुकलाई सही दिशातर्फ फर्काउन आन्दोलनकारी ढङ्गले अघि बढ्नु अपरिहार्य रहेको एमालेको निष्कर्ष छ।
पुनर्स्थापना वा निर्वाचन—दुवै मोर्चामा तयारी
प्रतिनिधिसभा पुनर्स्थापना होस् वा निर्वाचन, दुवै मोर्चामा सफलता हासिल गर्न पार्टीपंक्ति एकताबद्ध र संघर्षशील हुनुपर्ने एमालेले स्पष्ट पारेको छ। अन्तर्राष्ट्रिय परिस्थितिले पनि राष्ट्रिय स्वाधीनता, लोकतन्त्र र पार्टी आन्दोलनको रक्षाका लागि संघर्ष आवश्यक रहेको सन्देश दिएको पार्टीको भनाइ छ।
अब एमाले सन्देशसहित मैदानमा, जनताबीच पुगेर प्रतिगमनविरुद्ध निर्णायक संघर्ष गर्ने तयारीमा देखिएको छ।



प्रतिकृया दिनुहोस्