‘रोमानिया–चेक पठाइदिन्छु’ भन्दै लाखौँ उठाउने दोहोरो खेल! दुई जना पक्राउ

‘रोमानिया–चेक पठाइदिन्छु’ भन्दै लाखौँ उठाउने दोहोरो खेल! दुई जना पक्राउ

काठमाडौं, २४ मंसिर

विदेश जाने चाहना देखाएर उच्च तलबको सपना बेच्दै लाखौँ रूपैयाँ ठगी गरेको आरोपमा दुई ठगीबाज पक्राउ परेपछि राजधानीमा फेरि एकपटक वैदेशिक रोजगारी दलालको शैली चर्चामा आएको छ।


रोमानिया पठाइदिन्छु भन्दै १० लाख उठाइन्!

काठमाडौं नागार्जुन–५ बस्ने, मूल घर मध्यपुर थिमि–८ की ३० वर्षीया उजुना श्रेष्ठले रोमानिया पठाइदिन्छु भन्दै ६ जना पीडितबाट १० लाख रुपैयाँ उठाएको उजुरी प्रहरीले प्राप्त गरेको थियो।
उजुनालाई काठमाडौं महानगर–१० बाट सोमबार पक्राउ गरिएको हो।


चेक रिपब्लिकको नाममा ४.५ लाख उठाएर गायब!

ललितपुर टिकाथली बस्ने, कञ्चनपुर बेलौरी–२ का ४८ वर्षीय मान बहादुर रिसालले चेक रिपब्लिक पठाइदिन्छु भन्दै १ जना पीडितबाट ४ लाख ५० हजार रुपैयाँ लिएर सम्पर्कविहीन भएको प्रहरीले जनाएको छ।
मान बहादुरलाई मङ्गलबार महालक्ष्मी–५ ललितपुरबाट पक्राउ गरियो।


प्रहरीको अपरेशन : टेकुबाट खटिएको टोलीले दुबैलाई पक्रियो

उजुरी दर्ता भएसँगै काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट छुट्टाछुट्टै टोली परिचालन गरियो।
दुबैलाई समातेर वैदेशिक रोजगार विभाग, ताहाचलमा आवश्यक अनुसन्धान तथा कारबाहीका लागि बुझाइएको छ।


विदेश जाने तयारीमा हुनुहुन्छ?

प्रलोभनमा नपर्नुस्। काम, तलब, कागजात र म्यानपावर अनुमति अनिवार्य रूपमा जाँच्नुहोस्।
प्रहरीले विदेश–लागू ‘ठगी सिंडिकेट’ विरुद्ध अभियान अझ कडा बनाइने चेतावनी दिएको छ।