मनोज भट्टको ‘कामरेड जलजला उपन्यासको विवेचना’ सार्वजनिक

मनोज भट्टको ‘कामरेड जलजला उपन्यासको विवेचना’ सार्वजनिक

काठमाडौं । राष्ट्रिय जनमोर्चाका महासचिव मनोज भट्टद्वारा लिखित समालोचनात्मक कृति ‘कामरेड जलजला उपन्यासको विवेचना’औपचारिक रूपमा सार्वजनिक गरिएको छ।

भीमकाय उपन्यास ‘कामरेड जलजला’ का लेखक मोहनविक्रम सिंह स्वयंले शनिबार काठमाडौंमा आयोजित विशेष समारोहमार्फत पुस्तक विमोचन गरेका हुन्। कार्यक्रममा बोल्दै सिंहले उपन्यासमा रहेका दार्शनिक, वैचारिक पक्ष र ‘आमाको माया’ लाई केन्द्रीय स्थान दिएको उल्लेख गर्दै विवेचनात्मक कृति सार्वजनिक गरेकामा भट्टप्रति धन्यवाद व्यक्त गरे।

कार्यक्रममा नेकपा (एमाले) का उपमहासचिव तथा प्रगतिशील साहित्यकार प्रदीप ज्ञवाली, नेपाली कम्युनिस्ट पार्टीका नेता तथा साहित्यकार दीनानाथ शर्मा, भाषा आयोगका सदस्य डा. पुष्करराज भट्ट, नेपाल प्रज्ञा–प्रतिष्ठानकी प्राज्ञ बाबा बस्नेतलगायतले पुस्तकमाथि विस्तृत समीक्षा राखे।

त्यस्तै, समालोचक खेम थपलिया, हरिप्रसाद सिलवाल, विश्वभाषा क्याम्पसका प्रमुख बलभद्र भारती, अखिल नेपाल प्रगतिशील लेखक सङ्घका महासचिव भीष्म जोशीलगायतका उपस्थित वक्ताले पनि आफ्ना धारणा व्यक्त गरे।

लेखक भट्टले समेत सक्षिप्त मन्तव्य दिँदै आफ्नो पहिलो पुस्तकाकार साहित्यिक कृतिमाथि दिएको प्रेम र समीक्षाप्रति आभार व्यक्त गरे।

समारोह नेकपा (मसाल) का प्रवक्ता रामप्रकाश पुरीको अध्यक्षतामा, प्रगतिशील लेखक सङ्घका उपाध्यक्ष समीर सिंहको सञ्चालनमा तथा मीना पुनको स्वागत मन्तव्यसँगै सम्पन्न भएको थियो। कार्यक्रममा साहित्यकार, लेखक, राजनीतिक व्यक्तित्व र पाठकहरूको उल्लेख्य उपस्थिति रहेको थियो।

२६० पृष्ठको पुस्तकको मूल्य ४२५ रुपैयाँ तोकिएको छ।