शुभ दीपावली (तिहार), नेपाल संवत् ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!

शुभ दीपावली (तिहार), नेपाल संवत् ११४७ तथा छठ पर्व २०८३ को पावन अवसरमा हार्दिक मङ्गलमय शुभकामना!

नेपालीहरूको महान् चाड शुभ दीपावली (तिहार), मौलिक राष्ट्रिय संवत् नेपाल संवत् ११४७ तथा आस्था र निष्ठाको पावन पर्व छठ पर्व २०८३को यस हरियो-उज्यालो एवम् सुखद् अवसरमा काठमाडौँ महानगरपालिका वडा नं. २९ (अनामनगर, घट्टेकुलो र आसपासका क्षेत्र) का सम्पूर्ण आदरणीय दाजुभाइ, दिदीबहिनी, अभिभावक वर्ग, युवा साथीहरू तथा बालबालिकाहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवम् उत्तररोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछु।

उज्यालो, खुसी र आत्मीयताको प्रतीक दीपावलीले हाम्रा घरआँगन मात्र होइन, मनभित्रको अज्ञानता, वैमनस्य र निराशालाई हटाएर नयाँ आशा र सकारात्मकताको ज्योति फैलाओस्। तिहारका झिलिमिली बत्तीहरूले झैँ हाम्रो वडा नं. २९ लाई पनि सधैँ उज्यालो, सुरक्षित, स्वच्छ र व्यवस्थित बनाउने हाम्रो सङ्कल्पमा यहाँहरूको निरन्तर साथ र सहयोगको अपेक्षा गर्दछु।

हाम्रो आफ्नै माटोको उपज, स्वाभिमान र सांस्कृतिक समृद्धिको प्रतीक नेपाल संवत् ११४७ को नयाँ वर्ष आगमनले हामी सम्पूर्णमा नयाँ सोच,सामाजिक एकता र नयाँ ऊर्जा थपोस्। राष्ट्रिय संवत्का रूपमा रहेको नेपाल संवत्को मर्मलाई आत्मसात् गर्दै हाम्रा मौलिक परम्परा, अमूर्त सम्पदा र सांस्कृतिक पहिचानको संरक्षण गर्दै आधुनिक र प्रविधियुक्त वडा विकासतर्फ अघि बढ्न यो संवत्ले हामी सबैलाई प्रेरणा प्रदान गरोस्।

प्रकृति, सूर्यदेव र छठी मैयाको पूजा-आराधना गरी अत्यन्त निष्ठा, पवित्रता र अनुशासनका साथ मनाइने छठ पर्वले हामीलाई धैर्य, संयम,समानता र प्राकृतिक सन्तुलनको गहिरो सन्देश दिन्छ। नदी, पोखरी र वातावरणीय स्वच्छताको महत्त्व दर्साउने यस पावन पर्वले हाम्रो वडामा वातावरणीय चेतना, सरसफाइ र सामाजिक सहिष्णुतालाई अझ मजबुत बनाउनेछ भन्ने विश्वास लिएको छु।

यो शुभकामना व्यक्त गरिरहँदा वडाभित्रका सम्पूर्ण शैक्षिक संस्था, विद्यार्थी भाइबहिनी, स्वास्थ्यकर्मी तथा युवा वर्गको उज्ज्वल भविष्यप्रति वडा कार्यालय सदैव सजग छ। गुणस्तरीय शिक्षा, सहज स्वास्थ्य सेवा, युवाहरूका लागि स्वरोजगार तथा खेलकुदको प्रवर्द्धन गर्दै अनुशासित,प्रतिस्पर्धी र सभ्य नागरिक तयार पार्न हामी निरन्तर क्रियाशील रहने प्रतिबद्धता व्यक्त गर्दछु।

हाम्रा आदरणीय ज्येष्ठ नागरिकहरूको अनुभव र मार्गदर्शन, महिलाहरूको सक्रिय सहभागिता तथा सम्पूर्ण व्यवसायी एवम् श्रमजीवी वर्गको योगदान नै वडाको समृद्धिको मुख्य आधार हो। पारदर्शी जनसेवा, जनउत्तरदायी प्रशासन र ढिलासुस्तीरहित वडा सेवा प्रवाह सुनिश्चित गर्दै वडावासीको जीवनस्तर सहज बनाउन हामी पूर्ण निष्ठाका साथ समर्पित छौँ।

अन्त्यमा, यी पावन चाडपर्वहरूले हामी सम्पूर्ण वडावासी तथा देश-विदेशमा रहनुभएका नेपालीहरूमा एकापसमा भाइचारा, सहिष्णुता र आत्मीयता अभिवृद्धि गरुन्। पुन: सम्पूर्णमा शुभ दीपावली, नेपाल संवत् ११४७ र छठ पर्व २०८३ को हार्दिक मङ्गलमय शुभकामना!

शुभकाङ्क्षी:
कुश ढकाल
वडा अध्यक्ष
काठमाडौँ महानगरपालिका वडा नं. २९ कार्यालय
अनामनगर, काठमाडौँ।