एनपीएलमा झण्डै ९० लाखको सट्टेबाजी गराउने भारतीय नागरिक पक्राउ

एनपीएलमा झण्डै ९० लाखको सट्टेबाजी गराउने भारतीय नागरिक पक्राउ

काठमाडौँ, ठाँटी खबर। काठमाडौंको कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा सञ्चालन भइरहेको तेस्रो संस्करणको ‘नेपाल प्रिमियर लिग २०२६’ (NPL) मा अनलाइनमार्फत सट्टेबाजी (Betting) खेल्ने र खेलाउने कार्यमा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका-१७ ठमेल बस्दै आएका भारत बिहार राज्य, भोजपुर टाउन थाना घर भएका ३२ वर्षीय सोनु कुमार सिन्हा रहेका छन्।

कीर्तिपुर मैदानमा जारी म्याचहरूमा केही व्यक्तिहरूले मोबाइल तथा अनलाइन एप्लिकेसनमार्फत हार-जितको बाजी थाप्ने र गराउने गरेको विशेष सूचनाका आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय, टेकुबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो।

प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा सिन्हाले विभिन्न अनलाइन बेटिङ साइटहरूमार्फत कुल ८९ लाख ८१ हजार ७ सय २९ रूपैयाँ बराबरको अवैध कारोबार गरेको खुलेको छ।

पक्राउ परेका सिन्हालाई जुवा खेल्न वा सट्टेबाजी गर्न नहुने कसुरअन्तर्गत थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि जिल्ला प्रहरी परिसर,काठमाडौं पठाइएको छ।