बाढीपीडितका लागि चेम्बरको राहत सामग्री सरकारलाई हस्तान्तरण गरियो
काठमाडौं । नेपाल चेम्बर अफ कमर्सले भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित नागरिकका लागि संकलन गरेको राहत सामग्री सरकारलाई हस्तान्तरण गरेको छ।
चेम्बरका वरिष्ठ उपाध्यक्ष एवं विपद् व्यवस्थापन परिषद्का सभापति दीपक कुमार मल्होत्राको नेतृत्वमा गएको टोलीले आइतबार नेपाल प्रहरी विपद् प्रतिकार्य तथा तालिम केन्द्र, सामाखुसी पुगेर राहत सामग्री हस्तान्तरण गरेको हो।
चेम्बरका अनुसार युथ चेम्बरबाट संकलित सामग्रीसमेत समेटेर जिल्ला प्रशासन कार्यालय, काठमाडौंमार्फत प्रभावित क्षेत्रमा पठाउने गरीराहत हस्तान्तरण गरिएको हो।
हस्तान्तरण गरिएका सामग्रीमा चिउरा, बिस्कुट, दाल, रेडिमेड कपडा, टिसर्ट, सेनिटरी प्याड, टुथपेस्ट, टुथब्रस, मास्क, पञ्जा लगायत दैनिक उपभोग तथा स्वास्थ्यसम्बन्धी सामग्री छन्।
चेम्बरले उपलब्ध गराएको विवरणअनुसार राहत सामग्रीमा ३४ बोरा चिउरा, विभिन्न ब्रान्डका बिस्कुटका सयौँ कार्टुन, १० कार्टुन सेनिटरी प्याड, टुथपेस्ट तथा टुथब्रस, पञ्जा–मास्क, विभिन्न प्रकारका टिसर्ट र १० किलो दाल लगायत समावेश छन्।
यसैगरी, नेपाल चेम्बर अफ कमर्स र लियो डिस्ट्रिक्ट काउन्सिल ३२५ जी नेपालको सहकार्यमा पनि बाढी प्रभावितका लागि थप राहत सामग्री उपलब्ध गराइएको छ। उक्त सहयोगअन्तर्गत खानेपानी, चाउचाउ, बिस्कुट, साबुन, डायपर, डसना, औषधि, सेनिटरी प्याड, चामल, कपडा तथा ग्लोभ्स लगायत सामग्री रहेका छन्।
राहत हस्तान्तरणका क्रममा चेम्बरका कार्यसमिति सदस्यहरू कृष्णमान श्रेष्ठ, रोशन भोयद्यो र रुजुल श्रेष्ठ लगायतको उपस्थिति थियो।
भोटेकोसी नदीमा आएको बाढीका कारण रसुवा, नुवाकोट, धादिङलगायतका जिल्लामा ठूलो जनधनको क्षति भएको थियो। विपद्पछि चेम्बरले राहत तथा उद्धारमा सहयोग गर्दै आएको जनाएको छ।
यसअघि चेम्बरले खोज तथा उद्धारमा सहयोग पुर्याउने उद्देश्यले नेपाल प्रहरीलाई १७ वटा ड्रोन तथा विदुर नगरपालिकालाई २ वटा ड्रोन र १२५ वटा पावर बैंक उपलब्ध गराएको थियो। प्रभावित जिल्लाका जिल्ला चेम्बरमार्फत तत्काल राहतका लागि नगद सहयोगसमेत गरिएको चेम्बरले जनाएको छ।
विपद्का बेला आवश्यक ऊर्जा सहयोग पुर्याउने उद्देश्यले भारतबाट ५०० थान सोलार पावर बैंक ल्याउने व्यवस्था पनि गरिएको चेम्बरको भनाइ छ।
चेम्बरले विपद्को समयमा निजी क्षेत्रको सामाजिक उत्तरदायित्वअन्तर्गत सरकारसँग सहकार्य गर्दै उद्धार, राहत र पुनःस्थापनाका काममा निरन्तर सहयोग गर्ने प्रतिबद्धता जनाएको छ। प्रभावित नागरिकलाई आवश्यक खाद्यान्न, कपडा र स्वास्थ्य सामग्री उपलब्ध गराउन व्यवसायी तथा सदस्यहरूबाट राहत संकलन गर्ने कार्यलाई निरन्तरता दिइने पनि चेम्बरले जनाएको छ।



प्रतिकृया दिनुहोस्