रसुवा बाढीपछि उद्धार र खोजी तीव्र, डीआईजीसहित ठूलो संख्यामा प्रहरी टोली परिचालन

रसुवा बाढीपछि उद्धार र खोजी तीव्र, डीआईजीसहित ठूलो संख्यामा प्रहरी टोली परिचालन

काठमाडौँ, भदौ । भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवाको तल्लो तटीय क्षेत्र हुँदै नुवाकोट, धादिङ, चितवनलगायतका जिल्लाहरू प्रभावित भएपछि नेपाल प्रहरीले उद्धार, खोजी तथा राहत कार्यलाई तीव्र बनाएको छ।

बाढी प्रभावित क्षेत्रमा उद्धार, बेपत्ता व्यक्तिको खोजी, राहत वितरण, शव व्यवस्थापन, घटनास्थलको मुचुल्का, कानुनी सहायता तथा विभिन्न निकायबीच प्रभावकारी समन्वयका लागि प्रहरी नायव महानिरीक्षक (डीआईजी) सुदर्शन कोइरालासहित विभिन्न टोली परिचालन गरिएको नेपाल प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार रसुवा तथा अन्य प्रभावित क्षेत्रमा भएको घटनाको समग्र अवस्था र गतिविधिबारे जानकारी संकलन तथा आपत्कालीन समन्वयका लागि नेपाल प्रहरी प्रधान कार्यालयमा विशेष समन्वय केन्द्र स्थापना गरिएको छ।

त्यस्तै काठमाडौँ उपत्यकाका विभिन्न अस्पतालसँग समन्वय तथा समग्र प्रहरी परिचालनका लागि डीआईजी ओमबहादुर रानाको कमाण्डमा शिक्षण अस्पताल महाराजगञ्जमा कमाण्ड पोस्ट सञ्चालन गरिएको छ।

तालिमप्राप्त कुकुर र ड्रोनबाट खोजी

विभिन्न घटनास्थलमा उद्धार तथा राहत कार्यका लागि प्रहरी वरिष्ठ उपरीक्षक दीपशम्शेर जबराको कमाण्डमा तालिमप्राप्त कुकुरसहितको टोली परिचालन गरिएको छ। बेपत्ता तथा प्रभावित व्यक्तिको खोजीलाई थप प्रभावकारी बनाउन चार वटा ड्रोन समेत परिचालन गरिएको प्रहरीले जनाएको छ।

कानुनी सहायता, शव व्यवस्थापन तथा सम्पर्कविहीन प्रहरी कर्मचारीको खोजीका लागि समेत छुट्टाछुट्टै टोली परिचालन गरिएको छ। सम्पर्कविहीन प्रहरी कर्मचारीका परिवारसँग समन्वय गरी उनीहरूको अवस्थाबारे जानकारी लिने काम भइरहेको प्रहरीले जनाएको छ।

शव व्यवस्थापनदेखि राहत वितरणसम्म छुट्टाछुट्टै टोली

प्रहरीका अनुसार शव व्यवस्थापनका लागि प्रहरी वरिष्ठ उपरीक्षक योगबहादुर पालको संयोजकत्वमा ६ सदस्यीय टोली परिचालन गरिएको छ। त्यस्तै घटनास्थलमा राहत वितरणमा सहयोग पुर्‍याउन प्रहरी उपरीक्षक निर्मल बुढाथोकीको संयोजकत्वमा १५ सदस्यीय टोली खटाइएको छ।

बाढीका कारण मृत्यु भएका स्वदेशी तथा विदेशी नागरिकका शव विमानस्थलमा प्राप्त हुन सक्ने अवस्थालाई मध्यनजर गर्दै पहिचान, सुरक्षित व्यवस्थापन तथा सम्बन्धित निकाय र मृतकका आफन्तसँग समन्वय गर्न हेल्प डेस्क समेत सञ्चालन गरिएको प्रहरीले जनाएको छ।

यसैगरी अन्य सुरक्षा निकायसँग समन्वय तथा प्रभावित जिल्लामा प्रहरी परिचालन व्यवस्थित गर्न विभिन्न प्रहरी अधिकृतलाई समन्वय अधिकृतका रूपमा खटाइएको छ।

नुवाकोट र चितवनमा मुचुल्का टोली

घटनासँग सम्बन्धित कानुनी प्रक्रिया अघि बढाउन नुवाकोटतर्फ १२ जना र चितवनतर्फ ९ जना प्रहरीको टोली परिचालन गरिएको छ। टोलीले घटनास्थलमा आवश्यक मुचुल्का तयार गर्ने तथा घटनासम्बन्धी विवरण संकलन गर्ने प्रहरीले जनाएको छ।

बाढी प्रभावित क्षेत्रमा स्वास्थ्य सेवासमेत उपलब्ध गराउन नेपाल प्रहरी अस्पतालबाट प्राविधिक प्रहरी वरिष्ठ उपरीक्षक डा. छन्दबहादुर बुढाथोकीको कमाण्डमा २२ जना चिकित्सकको टोली रसुवातर्फ पठाइएको छ।

त्यस्तै विपद् व्यवस्थापन तालिम केन्द्र सामाखुसीबाट ३४ जना र बागमती प्रदेश विपद् व्यवस्थापन गुल्म हेटौँडाबाट १५ जना दक्ष प्रहरी कर्मचारीसमेत प्रभावित क्षेत्रमा परिचालन गरिएको छ।

प्रभावित जिल्लामा फोकल पर्सन

नेपाल प्रहरीले उद्धार, खोजी तथा राहत कार्यलाई थप व्यवस्थित बनाउन प्रभावित जिल्लाहरूमा सिनियर प्रहरी अधिकृतलाई ‘फोकल पर्सन’ का रूपमा खटाएको छ। तनहुँ, धादिङ, नवलपरासी पूर्व, गोरखा, चितवन, रसुवा र नुवाकोटमा थप प्रहरी अधिकृतलाई जिम्मेवारी दिइएको प्रहरीले जनाएको छ।

२८ प्रहरी अझै सम्पर्कविहीन

यसैबीच रसुवाका विभिन्न प्रहरी कार्यालयमा कार्यरत २८ जना प्रहरी कर्मचारी हालसम्म सम्पर्कविहीन रहेको नेपाल प्रहरीले जनाएको छ। उनीहरू तथा बाढी प्रभावित क्षेत्रमा रहेका नागरिकको खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ।

नेपाल प्रहरीले नागरिकलाई नदी तथा खोलाको किनार, बाढी प्रभावित क्षेत्र तथा अन्य जोखिमयुक्त स्थानमा नजान आग्रह गरेको छ। साथै नेपाल सरकार तथा सुरक्षा निकायबाट जारी हुने सूचना र निर्देशनको पालना गर्नसमेत विशेष अनुरोध गरेको छ।