गरिमा नवौँ राष्ट्रिय लोकदोहोरी अवार्ड २०८३ : उत्कृष्ट पाँच मनोनयन सार्वजनिक, लोकसङ्गीत क्षेत्र उत्साहित

गरिमा नवौँ राष्ट्रिय लोकदोहोरी अवार्ड २०८३ : उत्कृष्ट पाँच मनोनयन सार्वजनिक, लोकसङ्गीत क्षेत्र उत्साहित

काठमाडौं। नेपाली लोक तथा दोहोरी सङ्गीतको सम्मान र प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना हुँदै आएको ‘गरिमा नवौँ राष्ट्रिय लोकदोहोरी अवार्ड २०८३’ का लागि विभिन्न विधामा उत्कृष्ट पाँच मनोनयन सार्वजनिक गरिएको छ। राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान, उपत्यका समन्वय समितिले आइतबार २४ विधामा उत्कृष्ट कलाकार तथा स्रष्टाहरूको नाम सार्वजनिक गर्दै अवार्डको औपचारिक तयारीलाई अघि बढाएको हो।

निर्णायक समितिको मूल्याङ्कनपछि गायक, गायिका, नवप्रतिभा, गीत, शब्द, लय, नृत्य, अभिनय, छायाङ्कन, सम्पादन, मिक्सिङ–मास्टरिङलगायत विविध विधामा उत्कृष्ट पाँच–पाँच जनाको मनोनयन गरिएको प्रतिष्ठानले जनाएको छ।

समितिका अनुसार आगामी भदौ ६ गते काठमाडौंमाआयोजना हुने अवार्ड समारोहमा निर्णायक समितिको मूल्याङ्कन र दर्शकको भोटिङका आधारमा प्रत्येक विधाबाट एक जना विजेता घोषणा गरिनेछ।

यस वर्षको मनोनयनमा चर्चित कलाकारसँगै नयाँ पुस्ताका प्रतिभावान स्रष्टाहरूले पनि स्थान बनाएका छन्। यसले नेपाली लोकदोहोरी क्षेत्रमा नयाँ प्रतिभाको आगमन र सिर्जनशीलताको निरन्तर विस्तार भएको संकेत गरेको सांगीतिक क्षेत्रका जानकारहरूको भनाइ छ।

नेपाली लोकदोहोरी संगीतलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा थप स्थापित गर्ने लक्ष्यका साथ आयोजना हुँदै आएको यो अवार्डलाई कलाकार र दर्शक दुवैले विशेष चासोका साथ हेर्ने गरेका छन्।

प्रतिष्ठानले यस्ता अवार्ड कार्यक्रमले नेपाली मौलिक कला, संस्कृति तथा लोकदोहोरी सङ्गीतको संरक्षण, प्रवर्द्धन र कलाकारहरूको सम्मानमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएको विश्वास व्यक्त गरेको छ। देशभरबाट प्राप्त उत्साहजनक सहभागिताले लोकदोहोरी सङ्गीतप्रतिको आकर्षण निरन्तर बढ्दै गएको सन्देश दिएको आयोजकको भनाइ छ। यस वर्षको गरिमा नवौँ राष्ट्रिय लोकदोहोरी अवार्ड २०८३ को मुख्य प्रायोजक गरिमा विकास बैंक लिमिटेड रहेको छ, जसले नेपाली लोककला, संस्कृति र मौलिक सङ्गीतको संरक्षण तथा प्रवर्द्धनमा निजी क्षेत्रको सहकार्यलाई थप सुदृढ बनाएको आयोजकले जनाएको छ।