चलचित्र विकास बोर्डको हरित सन्देश: २६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा वृक्षारोपण, वातावरण संरक्षणमा ऐक्यबद्धता

चलचित्र विकास बोर्डको हरित सन्देश: २६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा वृक्षारोपण, वातावरण संरक्षणमा ऐक्यबद्धता

काठमाडौं, चलचित्र विकास बोर्डले आफ्नो रजतवर्ष तथा २६औँ वार्षिकोत्सवको पूर्वसन्ध्यामा पशुपति क्षेत्रस्थित विश्वरूप मृगस्थलीमा वृक्षारोपण कार्यक्रम सम्पन्न गर्दै वातावरण संरक्षणप्रति बलियो प्रतिबद्धता व्यक्त गरेको छ।

नेपाल सरकारको “सगरमाथा वृक्षरोपण महाअभियान” लाई ऐक्यबद्धता जनाउने उद्देश्यले आयोजित कार्यक्रममा वातावरण संरक्षण, पर्यावरणीय सन्तुलन र हरियाली प्रवर्द्धनको सन्देश दिइएको थियो। कार्यक्रम चलचित्र विकास बोर्डको आयोजनामा तथा Lions International District 325 F, MD 325, Nepal को सहकार्यमा सम्पन्न भएको हो।

देशभरका १० वटा चलचित्र हलमा ५१ दिन सफल प्रदर्शन पूरा गरेको चलचित्र ‘लालीबजार’ की बाल कलाकार समाइरा थापा को प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा वरिष्ठ कलाकार मिथिला शर्मागौरी मल्ल ले बोर्डका अध्यक्ष दिनेश डी.सी. सँगै बिरुवा रोपेर अभियानको शुभारम्भ गर्नुभयो।

कार्यक्रममा चलचित्र क्षेत्रका विभिन्न संघ–संस्थाका पदाधिकारी, वरिष्ठ कलाकार, निर्देशक, निर्माता, प्राविधिक, संगीतकर्मी तथा पर्यावरणप्रेमीहरूको उल्लेखनीय सहभागिता रहेको थियो। सहभागीहरूले कला र संस्कृतिसँगै प्रकृति संरक्षण पनि सबैको साझा दायित्व भएको सन्देश दिएका थिए।

चलचित्र विकास बोर्डले चलचित्र क्षेत्रको विकाससँगै सामाजिक उत्तरदायित्व र वातावरण संरक्षणका अभियानमा आगामी दिनमा पनि निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरेको छ। हरियाली प्रवर्द्धनका यस्ता अभियानले वातावरण संरक्षणप्रति समाजमा सकारात्मक चेतना फैलाउने विश्वास गरिएको छ।